घरभाडामा छुट दिन होटल व्यवसायीको आग्रह


बुटवलका होटल व्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले कोरोना महामारिपछि व्यवसायमा मन्दी छाएकाले भाडामा छुट दिन आग्रह गरेका हुन् ।

सङ्घका अध्यक्ष लेखनाथ भण्डारीले आर्थिक अभावका कारण भाडा तिर्नसक्ने अवस्था नरहेकाले घरभाडामा छुट दिँदा व्यवसायीलाई राहत मिल्ने बताए । संस्थागत पहलमा १४ जना घरधनीबाट २० देखि ४० प्रतिशतसम्म छुट प्राप्त भएको उनले जानकारी गराए ।

उहाँका अनुसार रुपन्देहीमा रहेकामध्ये ९० प्रतिशत होटल भाडामा सञ्चालित छन् । हाल सङ्घमा एक हजार दुई सय तीन व्यवसायी आबद्ध रहेको र पाँच हजार व्यक्तिले रोजगार पाएको अध्यक्ष भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा होटल व्यवसायी घरबहाल व्यवस्थापन समितिका संयोजक किरणप्रसाद भट्टराईले व्यवसायीलाई दैवीप्रकोपलगायतका कठिनाइमा संस्थाबाट सहयोग गर्दै आएको बताए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा एक हजार दुई सय ४७ वटा पर्यटक होटल रहेको बताउँदै यसमध्ये १८ हजार सात सय पाँच कोठा र २८ हजार ५७ शय्या रहेको जानकारी गराए ।

सङ्घका अनुसार जिल्लामा पाँचतारे तीन वटा, चारतारे तीन वटा र तीन तारे करिब १५ होटल रहेका छन् । यस्तै ए लेभलका तीन सय होटल छन । यहाँ पर्यटन क्षेत्रमा कूल रु ३० खर्बभन्दा बढी लगानी रहेको खनालले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।