आर्थिक वर्ष २०८०\०८१ को बजेट आज प्रस्तुत हुँदै


सरकारले आगामी आर्थिक वर्ष २०८०\०८१ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो । अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारसहित अनावश्यक बोझ भएका समितिहरु खारेज गर्ने घोषणा बजेटमा गर्ने बताइएको छ ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ । यसअघि सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याएको थियो । उक्त नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।