संसद् भवन निर्माणमा १ अर्ब २२ करोड, भौतिक पूर्वाधारको बजेट ३० अर्बले घट्यो


अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् ।

भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरिएको हो ।

त्यस्तै स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उन्ले बताए । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपियाँ विनियोजन गरिएको छ ।

यसैबिच सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि एक खर्ब ३१ अर्ब ५९ करोड रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा.  महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको बताए ।

चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०\८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।