बजेटले भन्सार बढाएसँगै सुनको भाउमा फेरि नयाँ रेकर्ड

0
Shares

सरकारले भन्सार दर बढाएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । बजेट मार्फत प्रति दशग्राममा ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा १२ हजार ७५० रुपैयाँ पुर्याएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको भाउ १ लाख १२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बैशाख २१ गते सुनको भाउ अधिकतम १ लाख ११ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । उक्त रेकर्ड करिब एक महिनापछि जेठ १७ गते तोडिएको हो ।

अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ बुधबार १ हजार ५०० रुपैयाँले बढेको हो । लगातार ५ दिन गिरावट आएको सुनको भाउ बजेट मार्फत भन्सार दर बढे लगतै मंगलबार बढेको थियो । मंगलबार २ हजार ४०० रुपैयाँले वृद्धि भएको थियो । पछिल्लो दुई दिनमा मात्रै सुनको भाउमा ३ हजार ९०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजावी सुनको भाउ १ लाख ११ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ आज १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएको थियो ।

यस्तै सरकारले विदेशबाट फर्किएका पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने व्यवस्था गरेको छ । महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ । विगतमा विदेशबाट फर्कने यात्रुले ५० ग्राम भन्दा माथि सुन ल्याउदा मात्र कर तिर्नुपर्ने व्यवस्था थियो ।

यता चाँदीको भाउ पनि मंगलबारको तुलनामा २० रुपैयाँले बढेको छ । बुधबार चाँदी आज १ हजार ३९० रुपैयाँ कारोबार भइरहेको छ । हिजो चाँदीको भाउमा १५ रुपैयाँले वृद्धि हुँदै १ हजार ३७५ रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६३ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔँस २३ रुपैयाँ ३१ डलरमा कारोबार भइरहेको छ । हिजो सुन प्रतिऔँस १ हजार ९६३ तथा चाँदी २३ रुपैयाँ ०२ डलरमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।