गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने भएको छ ।
उक्त कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्यूब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो ।
उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । यसको लागि दुबै कम्पनीले ५०\५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पुँजी लगानी लगभग ६० करोड बराबर हुने छ ।
आरम्भिक उद्योग स्थापना मात्र नभई यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न भविष्यमा विस्तार, रणनीतिक साझेदारी र उत्पादन लाइनहरूको विविधिकरणको परिकल्पना गरिएको छ । यस बारेमा बोल्दै गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवम् चेयरम्यान शेखर गोल्छाले भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको लामो सहयात्राको शुभारम्भ भएको बताए ।
यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित भएको उनको भनाइ छ । ‘मेड इन नेपाल’ को परिकल्पनालाई साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न यस ल्युब ब्लेन्डिङ प्लान्टको स्थापना महत्वपूर्ण कोसेढुङ्गा मानिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया