ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै


निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् ।

सङ्घीय सरकारको पाँच करोड २१ लाख रुपैयाँमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक\भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज २२ गते सो सम्झौता भएको हो ।

विसं २०७९ चैतमा भवन निर्माण सक्नुपर्ने थियो । ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधेरै रहेको कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले जानकारी दिए ।

निर्माणको काम रोकिएपछि ठेकेदारलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्कसमेत हुन नसकेको उनले बताए । “निर्माणको समय सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ, तर ठेकेदार हालसम्म सम्पर्कमा नै आएका छैनन, म्याद थप गरिएको पनि दुई महिना बितिसकेको छ, अझै सम्पर्कमा आएका छैनन्”, उनले भने ।

ठेकेदारलाई हालसम्म तीनपटक पत्राचार गरिएको छ । “फोन सम्पर्क भएको छैन, पत्र इमेलमार्फत पठाएका छौँ, अब पनि सम्पर्कमा आएन भने कानुनी उपचार खोज्छौँ”, पराजुलीले भने, “समयमा काम सम्पन्न नगर्ने र सम्पर्कमा आएन भने कालोसूचीमा राख्न वा कम्पनी खारेजको मागसहित पत्रचार गर्ने तयारीमा छौँ ।”

समयमा भवन निर्माण भएको खण्डमा सेवाग्राहीलाई सेवा प्रवाहमा सहज हुने प्रमुख पराजुलीले बताए । कर सेवा प्रवाह गर्दा सेवाग्राहीलाई लामो समय उभिएर बस्नुपर्ने बाध्यता रहेको उनले बताए । कार्यालयको भवन निर्माण सम्पन्न भएको खण्डमा सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह तथा सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न सकिने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।