नेशनल लाईफले पारित गर्यो बोनस वितरण प्रस्ताव, चुक्ता पुँजी ५ अर्ब नाघ्यो


नेशनल लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । इन्स्योरेन्सको सोमबार सम्पन्न घछ औं वार्षिक साधारण सभाले ८ प्रतिशत बोनस र ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र नेपालको सन्दर्भमा तरलताको संकटले बीमा ब्यवसाय चुनौतीपुर्ण भएको बताएकी थिइन् । नियामक निकायले समय समयमा चालेको विभिन्न कदमहरुका कारण गत आर्थिक वर्षमा बीमाको पहुंच बढेको भन्दै उनले सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारण बीमा बजार आउने दिनहरुमा थप फस्टाउने अपेक्षा गरिन् ।

नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनीले आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रृयामा छ । विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युतमा लगानी बढाउन कम्पनीले प्रयास गर्ने बताइएको छ । यस्तै एउटा सहायक लगानी कम्पनी स्थापना गर्ने सम्बन्धमा पनि प्रकृया अघि बढाउने कम्पनीले जनाएको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्‍याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हाल चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार ८७५ रुपैयाँ रहेकोमा ८ प्रतिशत बोनस वितरण पश्चात उक्त पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।