‘इन्ट्रा डे करेक्शन’ ले बजार थप मजबुत बन्दै, २ अर्ब ३६ करोडको कारोबार

0
Shares

सेयर बजारमा बुधबार ‘इन्ट्रा डे’ करेक्शन आएको छ । बुधबार बजार सूचक नेप्से १२ः२० बजे २३ अंकले बढेर १९५०.८१ बिन्दुमा पुगेको भएपनि त्यसपछि बजारमा पटक पटक करेक्शन हुँदा अन्त्यमा ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ ।

यसअघि आइतबार ५३ अंकले बढेको बजारमा सोमबार २५ अंकले घटेको बजार मंगलबार १७ अंक बढीले वृद्धि भएको थियो । बुधबार बजारमा आएको ‘इन्ट्रा डे’ करेक्शनले बजारलाई थप मजबुत बनाएको छ । यसअघि अघिल्लो कारोबार दिनहरुमा पनि बजार बढ्दै करेक्शनको साथ अगाडि बढेकाले बजार टिकाउपूर्ण बन्दै गरेको सेयर विश्लेषकहरु बताउँछन् ।

चालु आर्थिक वर्ष समाप्त हुन साढे १ महिना मात्रै बाँकी रहँदा बैंकहरुमा तरलता बढ्दै गएर सिडी अनुपात र अन्तरबैंक ब्याजदर समेत घट्दै गएको अवस्था छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत ब्याजदर घटाउने संकेत दिएसँगै बजारमा लगानीकर्ताहरु लगानी गर्न उत्साहित छन् । कारोबार बढ्दै जानुले पनि त्यसलाई पुष्टि गर्दै आएको छ । अर्कोतर्फ चालु आव समाप्त हुन लाग्दा तेस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा लगानीकर्ताले कम्पनीहरुले गर्ने आम्दानी र वितरण गर्नसक्ने लाभांश आंकलन गर्न थालिसकेका छन् ।

घट्दो बैंक ब्याजरकाबीच अबको तीन महिनापछि नै लाभांश पाइने हुँदा लगानीकर्ताले आफ्नो लगानी सेयर बजारतर्फ बढाउन थालेका छन् । सामान्य अंकले बढेको बजारमा कारोबारमा आएका उपसमुहगत सूचक मिश्रित देखिएका छन् । यस्तै कारोबार रकम दुई अर्ब ३३ करोड नाघेको छ । आज नेप्सेमा सूचीकृत २६१ स्क्रिप्टको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये ब्यापार सर्वाधिक ४.९७ प्रतिशतले बढ्दा लघुवित्त १.२२ र विकास बैंक १.१४ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ्ग होटल, जीवन बीमा, निर्जीवन बीमा र म्युचुअल फन्डको सुचकमा सामान्य गिरावट आएका छन् ।

बुधबारको बजारमा युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेर १३५३ रुपैयाँ पुगेको छ । यस्तै खप्तड लघुवित्त ८.०२, स्वावलम्वन लघुवित्तको ५.९६, साल्ट ट्रेडिङ कर्पोरेसनको ५.४२ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको ५.१७ प्रतिशतले बढेको छ ।

उता सिद्धार्थ इक्वीटी फन्डको इकाईमूल्य सर्वाधिक ४.३५ प्रतिशतले घटेको छ । नराइज फोकस्ड इक्वीटी फन्डको ३.८२ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ३.६५, एनआईबिएल ग्रोथ फन्डको ३.५३ र आरबिबि म्युचुअल फन्ड–१ को इकाईमूल्य ३.२५ प्रतिशतले घटेको छ ।

सोल्टी होटल कारोबारमा रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सर्वाधिक कारोबार कारोबार भएको होटलको सेयरमूल्य १.४४ प्रतिशत घटेर १० करोड १३ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ९७ लाख २१ हजार, नागरिक लगानी कोषको ६ करोड ९० लाख ३८ हजार, नेपाल टेलिकमको ६ करोड ५२ लाख ९० हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ६७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबारको बजारपछि समग्र बजार पुँजीकरण ८ अर्ब ६ करोड रुपैयाँले बढेर २८ खर्ब २० अर्ब ९९ करोड ९ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।