सेजन पूर्वअध्यक्ष सापकोटाको उपन्यास ’सेयरपुर’ सार्वजनिक


नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ ।

बिहीबार सेजनद्वारा आयोजित ञसेयरपुरझपुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षहरूद्वारा उपन्यासको विमोचन गरिएको हो ।

पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए । नेपालमा पुँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो ।

उपन्यासमा रहेको पदम पात्रसँग सन्दर्भ जोड्दै हमालले आफू पनि नेपालमा विरक्त लागेर विदेश २० वर्ष बसेर पुन नेपालमा आएको स्मरण गरे । नेपालको सेयर बजार अझै सानो रहेको र पारदर्शी नभएको बताउँदै उनले पारदर्शी बनाउन प्रतिस्पर्धाको वातावरण तय गरिँदै लगेको बताए । हमालले क्षमता हुनेले व्यवसाय गर्न पाउने गरी वातावरण तय गरिएको दाबी गरे । नयाँ ब्रोकर लाइसेन्स दिनको लागि लाइसेन्स दिएको र यसले बजार विस्तार र सरकारको राजस्व वृद्धिमा सहयोग पु¥याएको उनको भनाई थियो ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारहरूले सेयरमा लगानी गर्दा स्वनियमनमा बस्न सक्नु पर्ने बताए । पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उनको भनाई थियो। नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा पारदर्शिता हुनु पर्ने उनको भनाई थियो ।

पुस्तकमाथि समालोचना गर्दै सेजन पूर्वअध्यक्ष विज्ञानविभु अधिकारीले लेखक सापकोटाले जटिल विषयलाई सरल भाषामा उपन्यास लेखिएको बताए । पुस्तकमा सेयर बजारमा लगानी गर्दा भएको सफलता असफलता र पुन लगानी गर्ने हुटहुटी लगायतका विषयमा उपन्यासका पात्र रमेश र पदम लगायतबाट खुलाइएको उनको भनाई थियो ।

पुस्तक र लेखकका विषयमा सेजन पूर्व अध्यक्षहरू प्रदिप चापागाईँ, गोकर्ण अवस्थी, निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले आफ्नो धारणा राखेका थिए । सेजन अध्यक्ष जनार्दन बरालले लेखक सापकोटाले नेपाली पाठक र लगानीकर्तालाई पठनीय पुस्तक दिएको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।