‘कर छल्न सिकाउने नै लेखापरीक्षक’ शीर्षकको समाचारमा आइक्यानको असहमति

0
Shares

आर्थिक न्यूज पोर्टल ‘नोटबजार डट कम’ मा प्रकाशित कर छल्न सिकाउने नै लेखापरीक्षक, सरकारी राजश्व घटाई आफ्नो आम्दानी बढाउन चार्टर्ड एकाउन्टेन्ट’, शिर्षकको समाचारमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले असहमति जनाएको छ । संस्थाले उक्त समाचार तथ्यहीन तथा भ्रमपूर्ण रहेको भन्दै खण्डन गरेको हो ।

संस्थाले नोटबजार डट कम अनलाईनमा २०८० जेठ २२ गते प्रकाशित “कर छल्न सिकाउने नै लेखापरीक्षक, सरकारी राजश्व घटाई आफ्नो आम्दानी बढाउन चार्टर्ड एकाउन्टेन्ट, शीर्षकक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संस्थाले उक्त समाचार तथ्यहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको आरोप समेत लगाएको छ ।

संस्थाले उक्त समाचार तथ्य हिन रुपमा प्रकाशित गरिएको दाबी गरेको छ । उक्त समाचारले सम्पूर्ण लेखा व्यावसायीहरु उपर भ्रम फैलाउने काम भएको भन्दै संस्थाले गम्भीर असहमति जनाएको हो । साथै संस्थाले उक्त समाचारमा कुनै तथ्य पूर्ण व्यहोरा नभई बिना आधार सिंगो पेशागत समूदायलाई नै लाञ्छित गर्न खोजेको आरोप समेत लगाएको छ ।

लेखापरीक्षकहरुले लेखापरीक्षण गर्दा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स ऐन २०५३, नेपाल चार्टर्ड एकाउण्टेन्ट्स नियमावली २०६१ र संस्थाले जारी गरेको आचार संहिता र प्रचलित लेखा तथा लेखापरीक्षणमानहरुको अधीनमा रहेर लेखापरीक्षण गर्ने हुँदा त्यसको विपरीत हुने गरी काम गर्ने व्यक्तिलाई आवश्यक अनुशासनात्मक कारवाही गर्ने गरेको समेत स्पष्ट पारेको छ ।

संस्थाले लेखा व्यवसाय सम्बन्धी समाचार प्रकाशन गर्दा संस्थाको धारणा नसमेटेकोमा आपत्ती जनाएको छ । संस्थाले एकतर्फि रुपमा आम लेखाव्यवसायीलाई नै लाञ्छित गरी प्रकाशित उक्त समाचार भन्दै खण्डन गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था, संस्थाका सदस्य तथा संस्थाका सदस्यहरुले प्रदानगर्ने सेवा प्रति जनमानसको धारणामा नकारात्मक असर परी समग्र लेखा व्यवसायको निष्ठामा आँच आउने संस्थाको दावी छ । संस्थाले उक्त समाचार हटाउन माग गर्दै खण्डन प्रकाशित गरीदिन अनुरोध गरेको छ ।

तर, पत्रकारिताको पेशागत मर्यादालाई अनुसरण गर्दै उक्त समाचार नहटाई यो खण्डन प्रकाशित गरीएको छ । साथै उक्त समाचार कोलमनिष्ट तथा पुर्व लेखापरीक्षक रहेका डङकन मबिनको विचारमा आधारीत भएर तयार गरीएको जानकारी नोटबजारले प्रकासित गरेको समाचारको अन्त्यमा उल्लेख समेत गरिएको छ । मबिनको विचारलाइ लिएर गोइङग कन्सर्न डटकमले प्रकाशित गरेको समाचारमा आधरीत भई उक्त समाचार तयार पारिएको हो ।

अन्तराष्ट्रिय समाचारको नेपाली संस्करण भएको समेत सम्बन्धित पक्षहरुमा जानकारी गराइन्छ । अन्तराष्ट्रिय समाचारमा नेपालका ठूला करछलीका सन्दर्भलाइ पनि जोडिएको हो । उक्त समाचारमा भएको एनसेलको उदाहरण कम्पनीको लेखापरीक्षणको क्रममा लेखापरीक्षकले कर दायित्व नदेखाए कै कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय अदालतमा पुगेर कर तिर्नु पर्ने फैसला भएको विषय सबैमा जग जाहेर छ ।

त्यसका साथै सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा र मर्जरको लाभमा कर तिर्नुपर्ने विषयलाई केही चार्टर्ड एकाउन्टेन्टहरुले कैफियत सहितको ‘क्वालिफाइड’ लेखापरीक्षण प्रतिवेदन दिएका छन भने केहीले कुनै पनि कैफियत उल्लेख नगरेको अवस्था छ । यसमा नियामक निकायको रुपमा रहेको संस्थाको ध्यान नपुगेको स्पष्ट हुन आउछ ।

उक्त समाचारको अंग्रेजी भर्सनको समाचार लिङक, संस्थाको खण्डन तथा संस्थाले खण्डन गरेको समाचारको लिङक पनि यसै सामग्रीमा प्रकाशित गरिएको छ । – सम्पादक

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।