आधारभूत वित्तीय सेवामा बैंकहरुले ग्राहकबाट शुल्क उठाउन नपाउने

0
Shares

बैंकहरुको पनि बैंक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई प्रदान गर्ने आधारभूत वित्तीय सेवाहरुमा कुनै पनि किसिमको शुल्क लिन नपाउने सूचना जारी गरेको छ ।

राष्ट्र बैंकको वित्तयि समावेशीता तथा ग्राहक संरक्षण महाशाखा अन्तर्गतको वित्तीय ग्राहक संरक्षण इकाइले वित्तीय चेतनाका लागि सूचना जारी गरेको हो ।

आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्दछ भन्ने मान्यताका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा (गुड फर पेमेन्ट चेक समेत), चेकको स्टप पेमेन्ट गर्दा र ब्यालेन्स सर्टिफिकेसन गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा कुनै पनि किसिमको शुल्क लिन नपाउने व्यवस्था रहेको जनाएको छ ।

यसैगरी केन्द्रीय बैंकले मोबाइल/इन्टरनेट बैंकिङको युजरनेम/पासवर्ड हराएमा, दुई लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र अन्तरशाखा कारोबार अर्थात एक शाखाको काम अर्को शाखाबाट गर्ने (एबीबीएस) लगायतका सेवा प्रदान गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरुले सेवा शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

माथिका बाहेक अन्य सेवा बापतको शुल्क भने सम्बन्धित संस्थाले निर्धारण गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ । वित्तीय सेवाको पारदर्शिताका लागि सेवा शुल्कसम्बन्धी विवरण सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने प्रावधान रहेको छ ।

त्यसगरी बैंक तथा वित्तीय संस्थाले शुल्कसम्बन्धी विवरण (स्ट्यान्डर्ड ट्यारिफ एन्ड चार्जेन्ज) आफ्नो वेबसाइटमा प्काशन गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । राष्ट्र बैंकले ग्राहकहरुलाई कुनै पनि सेवा लिनुअघि सो सम्बन्धी विवरण अध्ययन गर्न पनि सचेत गराएको छ ।

विद्युतीय भुक्तानी तथा एटीएमबाट हुने कारोबार र कर्जा सम्बन्धी शुल्कहरुमा भने राष्ट्र बैंकबाट तोकिएको सीमाका आधारमा निर्धारण हुने उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।