नेप्से ६ दिनमा १२० अंकले बढेपछि २०२० बिन्दुमा, ३ कम्पनीमा सर्किट ब्रेक

0
Shares

सेयर बजार मापक सूचक नेप्से मंगलबार २०२० दशमलव ६४ बिन्दुमा पुगेको छ । मंगलबार ३४.१७ अंकले बढेसँगै पछिल्लो ६ दिनमा नेप्सेमा कुल १२० दशमलव ०५ अंकको वृद्धि आएको छ ।  मंगलबार २ः२४ मा नेप्से परिसूचक २०३४ दशमलव ८० बिन्दुमा पुगेर फर्किएको हो । त्यसपछि क्रमशः ओरालो लागेर कारोबारको अन्त्यमा २०२० बिन्दुमा नेप्से बन्द भयो ।

यसदिन बजारमा २७० स्क्रिप्टको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर ७० हजार ७५९ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४४ रुपैयाँमा खरिद बिक्री भएको हो । अघिल्लो दिन सोमबार २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१६ रुपैयाँको कारोबार भएको थियो । नेप्से बढेपनि आज कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब २४ करोडले बढेको हो । यसअघि २०७९ माघ ४ गते बुधबार सेयर बजारमा ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार रकम पाँच महिनापछि ४ अर्ब नाघेको हो ।

मंगलबार कारोबारमा आएकामध्ये २३० कम्पनीको सेयरमूल्य बढेको छ । ३४ कम्पनीको घट्दा ६ कम्पनीको स्थीर रहेको छ । यस्तै कारोबारमा आएका १३ वटै उपसमुहगत सूचकमा हरियाली छाएको छ । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक ४.३२ प्रतिशतले बढेको छ । यस्तै जीवन बीमा २.७३, लघुवित्त २.६४, ब्यापार २.४२, होटल तथा पर्यटनमुलक २.३०, फाइनान्स २.१९ र निर्जीवन बीमाको सूचक २.१६ प्रतिशतले बढेको छ । हाइड्रोपावर, लगानी, विकास बैंक, म्युचुअल फन्ड र अन्य १ प्रतिशतभन्दा बढीले बढेका छन् । बैंकिङ्ग ०.६१ प्रतिशतले बढेको छ । नेप्सेमा आएको वृद्धिले आज तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । ती कम्पनीहरुमा वीन नेपाल लघुवित्त, भुगोल इनर्जी लिमिटेड र सिटि होटल लिमिटेडको सेयरमूल्य दश प्रतिशत हाराहारीले बढेको हो ।

यस्तै हिमालयन डिष्टिलरी ८.८०, शिवम् सिमेन्टसको ८.२३, बलेफी हाइड्रोपावर ८.१६, शुभम् पावर ७.९१, कालिञ्चोक दर्शन ७.४७, विजय लघुवित्त ६.९१ र नेरुडे लघुवित्तको सेयरमूल्य ६.८० प्रतिशतले वृद्धि भएको छ ।  उता आजको बजारमा प्रभु स्मार्ट फन्डको इकाईमूल्य ३.९३ प्रतिशत घटेर ८ रुपैयाँ ३१ पैसामा झरेको छ । यस्तै सिटिजन म्युचुअल फन्ड–२ को इकाईमूल्य ३.१७, युनिलिभर नेपाल ३.१४, सानिमा लार्ज क्याप फन्डकाे २.६३ र बिओके डिबेञ्चर २०८६ को मूल्य २.५० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २७ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै हिमालयन डिष्टिलरीको १७ करोड ५० लाख ९५ हजार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख ७८ हजार, सोल्टी होटलको १२ करोड १८ लाख ४६ हजार रुपैयाँ र नेपाल लाइफको ८ करोड ८३ लाख ८ हजार रुपैयाँको सेयर कारोबार हुदै शीर्ष पाँचभित्र समेटिएका छन् । यस्तै हिमालयन एभरेष्ट, शिवश्री हाइड्रोपावर, एनआईसी एशिया बैंक, चिलिमे हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनीको पनि ६ करोड बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबार संख्याका आधारमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सर्वाधिक ५ हजार ९० वटा कारोबार हुँदा शिवम सिमेन्टस्को सबैभन्दा धेरै कित्ता अर्थात ५ लाख ५७ हजार ३८८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

मंगलबारको कारोबारपछि समग्र बजार पूँजीकरण २९ खर्ब ५४ अर्ब ८७ करोड १ लाख रुपैयाँमा समेटिएको छ । सोमबार बजार पूँजीकरण २९ खर्ब ४ अर्ब ८९ करोड ५८ लाख रुपैयाँमा समेटिएको छ । आज मात्रै बजार पुँजीकरण ४९ अर्ब ९८ करोड रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।