हकप्रद अनुमति दिँदा ५ मेगावाटको आयोजनाले अर्को ५० मेगावाट बनाउँदैछ: दिल्लीबहादुर सिंह

0
Shares

विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युत आयोजनालाई हकप्रद शेयर जारी गर्न अनुमति दिएपछि ५ मेगावाटको आयोजनाले पनि ५० मेगावाटको अर्को आयोजना बनाउन सुरु गरेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं साधारणसभाको उद्‍घाटनमा बोल्दै अध्यक्ष सिंहले हकप्रदको अनुमति दिंदा राम्रो भएको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा ठूलो उपलबब्धी भएको सिंहको भनाइ छ । ‘हिजो ५० मेगावाट बिजुली किनिदिनुस भन्ने अवस्था थियो । २०० मेगावाट किन्दा पनि दङ्ग पर्थ्यौ । अहिले त एकैपटक १० हजार मेगावाटको सम्झौता भयो । यो निकै ठूलो उपलब्धी हो ।’ उनले भने ।

बंगलादेशसँग विद्युत व्यापारका लागि नेपाल र बंगलादेश दुवैले भारतसँग बाटो माग्ने र डेडिकेटेड प्रसारणलाइन आफै बनाउनुपर्नेमा उनको जोड छ ।
प्राइभेट सेक्टरको रफ्तार रनवेबाट टेकअफ गरेको र अव यसको उडान निकै टाढासम्म हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

निजी क्षेत्रले विद्युत व्यापार गर्ने कुरा आउँदा प्रसारणलाइनको कुरा आउँछ । तर ग्रीड कोड सम्बन्धी निर्देशिका बनाएको ४ महिनासम्म पनि सुझाव नआएको उनको भनाइ छ । अब इपानले सुझाव दिएर यसलाई अन्तिम रुपदिन सहयोग गर्न पनि उनले आग्रह गरे ।

नेपालमा विद्युत उत्पादन बढ्दै गएपनि यसको लागत बढ्दा उत्पादन पनि महँगिएको छ । तर अब उत्पादन लागत पनि घटाउँदै जानुपर्ने उनले बताए ।
त्यसका लागि विदेशमा रहेका पेनसन फण्डको पैसा ल्याएर जलविद्युतमा लगानी गर्न सके उत्पादन सस्तो हुने पनि उनको सुझाव छ । त्यसता फण्डको पैसा सस्तो ब्याजदरमा चलाउन पाइन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।