धौलागिरी र खप्तड लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति

0
Shares

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर तथा प्राप्तीको अन्तिम स्वीकृति पाएका छन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले दुई लघुवित्तको मर्जरका लागि जेठ २४ गते बुधबार अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिई यी कम्पनीहरूले एकीकृत कारोबारको मिति तय गर्नेछन् ।

यसअघि गत वैशाख १६ गते वार्षिक साधारण सभा मार्फत दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । दुई लघुवित्त कम्पनीबीच २०७९ मंसिर १८ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

गाभ्ने–गाभिने दुबै संस्थाले आ–आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम धौलागिरी लघुवित्त र खप्तड लघुवित्त १ः०.७५ को सेयर आदान प्रदान अनुपात (सेयर स्वाप रेसियो) मा मर्जर भएका हुन् । मर्जरपछि धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाटै एकीकृत कारोबार गर्ने सहमति छ । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङस्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा छ ।

मर्जर गरेका दुबै कम्पनीले गत वर्षमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेका थिए । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।