प्याज लुकाउनेलाई बाणिज्य विभागले कारबाही गर्ने, पाँच तरकारी बजारको अनुगमन

0
Shares

वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको कालोबजारी गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने भएको छ । विभागले अनुगमन गर्ने क्रममा प्याज लुकाइ कृत्रिम माग सृजना गर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गर्ने जनाएको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत प्याजको आयातमा भ्याट लगाउने निर्णय गरेको छ । सरकारको उक्त निर्णयपछि व्यवसायीले बजारमा कृत्रिम अभाव सृजना गरेपछि प्याजको मूल्य करीब दोब्बरले बढेको छ ।

प्याजको मूल्यमा आएको अस्वभाविक उतारचढावलाई लिएर विभागले गम्भिर ध्यनाकर्षण गरेको छ । बजारमा प्याजको मूल्यमा अस्वभाविक उतारचढाव महशुस हुनासाथ विभागले सतर्कतापुर्वक बजारको आपुर्ति प्रणालीको अध्ययन अनुगमन गरीरहेको जनाएको छ।

विभागले मूल्य अभिवृद्धि कर लागेको बहानामा नियमित रुपमा आपुर्ति भइरहेको वस्तुको स्वभाविक मूल्य भन्दा उच्च मूल्य कायम गरी बेचविखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दण्डनीय अपराध मानिने विभागले जनाएको छ ।

दैनिक आधारभूत आवश्यकताका वस्तुको आपुर्ति प्रणालीमा आवद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेता सबैले उपभोक्ता संरक्षण ऐनमा तोकिएको दायीत्व पुरा गर्न समेत विभागले सुझाएको छ । यसरी व्यवसाय गर्दा पारदर्शी रुपमा व्यवसाय सञ्चालन गर्न बिल बिजक जारी गरी कारोबार गर्न समेत विभागले सुझाएको छ ।

विभागको अनुगमनको क्रममा कानुनले तोकिएको दायीत्व पुरा नगर्ने व्यवसायीलाई कानुन अनुसार कडा कारबाही गर्ने समेत विभागले जनाएको छ । प्याजको मूल्यमा अस्वभाविक वृद्धि भएपनि शुक्रबार मात्रै विभागले उपत्यकाका ५ तरकारी बजारको अनुगमन पनि गरेको छ ।

विभागले शुक्रबार लगनखेलका दुई, पुल्चोकको एक, चन्द्रागिरीको एक र शान्तिनगरको एक तरकारी बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा विभागले सबै तरकारी बजारलाई समान्य निर्देशन दिएको छ । तर, चन्द्रागिरीको तरकारी बजारको भने कागजात नै माग गरेको विभागले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।