समता घरेलु लघुवित्तले अंकित मूल्यमा एफपीओ जारी गर्ने, बिक्री प्रबन्धक चयन

0
Shares

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू एफपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

लघुवित्तले एफपीओ जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल काठमाण्डौलाई नियुक्त गरेको हो । लघुवित्तले अंकित मूल्यमा ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ३२ हजार ८५६ कित्ता बिक्री गर्नेछ ।लघुवित्तको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम संस्थापक–सर्वसाधारणको सेयर संरचना अनुपात ७०ः३० कायम गर्न लघुवित्त कम्पनीले सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री गर्न लागेको हो ।

लघुवित्तका कम्पनी सचिव विश्वराज श्रेष्ठले वित्तीय संस्थाको सञ्चालक समितिको १४३ औं बैठकको निर्णयानुसार निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई चयन गरेको जानकारी दिए । साेही अनुसार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा सोमबार दुई पक्षबीच हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए । सम्झौता–पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा, काभ्रेमा हस्ताक्षर सम्पन्न भएको हो ।

यसअघि प्रतिकित्ता १५९ रुपैयाँ ७ पैसामा एफपीओ बिक्री गर्ने निर्णय गर्दै कम्पनीले २०७८ चैत २९ गते धितोपत्र बोर्डमा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ बिक्रीका लागि कम्पनीले अनुमति मागेको थियो । तर कम्पनीको पुँजीमा पछिल्लो समय फेरबदल भएसँगै कम्पनीले अंकित मूल्यमा नै सेयर निष्कासन गर्ने भएको हो । यससँगै लघुवित्तको एफपीओ लगानीकर्ताले १०० रुपैयाँ दरमा नै एफपीओ खरिद गर्ने अवसर पाउने भएका छन् ।

विसं २०७९ चैत्र मसान्त सम्मको अधिकृत पूँजी ५० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४२ करोड ७४ लाख ४१ हजार ४२१ रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको निक्षेप १ अर्ब १४ करोड ६३ लाख र सापटी १ अर्ब ५२ करोड ४० लाख रहँदा कुल कर्जा लगानी ३ अर्ब १० करोड रुपैयाँ रहेकोछ । समीक्षा अवधिमा कम्पनको खुद नाफा भने ७७ लाख ८० हजार रहेको छ । लघुवित्त वित्तीय संस्थाको हाल ६१ वटा शाखा कार्यालयहरु मार्फत कुल ६२ हजार ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

यस्तै मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।