घोराही सिमेन्ट प्रकरणः सेबोन अध्यक्ष हमालमाथि छानबिन गर्न माग

0
Shares

स्वतन्त्र पुँजीबजार सुधार संघले घोराही सिमेन्ट इन्डष्ट्रिको आईपीओ निष्कासन प्रक्रियामा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालमाथि छानबिन गर्न माग गरेको छ ।

संघले घोराही सिमेन्टको आईपीओ निष्काशन गर्दा सेबोन अध्यक्ष हमालले भ्रष्टाचार गरेको आरोप शंकाको घेरामा परेको भन्दै छानबिन गर्न माग गरेको हो । अध्यक्ष हमालमाथि लागेका आरोपको गहिरो छानबिन गरी भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई उचित कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ ।

सिमेन्टसको प्रारम्भिक नियमित आईपीओ आवेदन प्रक्रिया पालना नगरी कुन आधारमा आईपीओ निष्कासनका लागि अध्यक्ष हमालले हस्ताक्षर गरेका हुन् ? त्यसको जवाफ संघले खोज्न आग्रह गरेको छ । घोराहीको आईपीओ स्वीकृती प्रक्रियामा भएको जालझेल, आईपीओको लागि आवेदन पेश गरेको मितिदेखि नै सेबोन अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका हमाल विरुद्ध आरोप लाग्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष सुशील कुमा लुनीयाँद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “धितोपत्र बोर्डका अध्यक्ष हमाल विरुद्ध लगाइएको भ्रष्टाचारको हालको आरोपले सेबोनेको निष्ठा र समग्र नेपाली पुँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको छ र यसले पुँजीबजारको विकास र विस्तारमा धेरै पछाडि धकेल्नेछ ।”

नेपालको धितोपत्र बजारको नियामक निकायको रुपमा रहेको सेबोन लगानीकर्ताको विश्वास स्थापित गर्न र आईपीओ स्वीकृति प्रक्रियाले पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न स्थापना गरिएको स्मरण गराउँदै तत्काल छानबिनको तत्काल कदम चाल्न पनि संघले आग्रह गरेको छ ।

संघ एक जिम्मेवार संस्थाको हैसियतमा नेपालको पूँजीबजारमा पारदर्शिता, जवाफदेहिता तथा निष्पक्षता पालना गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । पूँजीबजारको विकास र स्थायित्वको लागि आम लगानीकर्ताहरुको हकहित तथा लगानीको सुनिश्चितताको लागि, गलत क्रियाकलापको विरुद्धमा आवाज बुलन्द गर्न आवश्यक पर्दा सहयोग तथा यस्ता जालझेल विरुद्ध सधै खबरदारी जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।