चालिस करोड १४ लाख बराबरको खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण


आयोजना कार्यान्वयन निर्देशनालयले चालिस करोड १४ लाख बराबरको खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरेको छ ।

मेलम्ची खानेपानी उप–आयोजना–२ अन्तर्गतको वितरण सञ्जाल सुधार कार्यका चारवटा प्याकेज अन्तर्गत बिच्छ्याइएका १ हजार १० कि.मि. पाइपलाइनमध्ये करिव ४० करोड १४ लाख बराबरका ७१.७२ कि.मि. खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरेको हो ।

जसअनुसार, महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्रमा बिच्छ्याइएको २१.५७ कि.मि. तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गलमा बिच्छ्याइएको १७.०४ कि.मि. खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ ।

यसैगरी, खुमलटार पानीपोखरीबाट खानेपानी वितरणका लागि प्याकेज नं. ३ अन्तर्गत नरेफाँट र जडिबूटीमा बिच्छ्याइएको २२.६६ कि.मि. र प्याकेज नं. ४ अन्तर्गत कीर्तिपुर पानीपोखरीबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रमा बिच्छ्याइएको १०.४५ कि.मि. खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको छ ।

साथै, खानेपानी वितरण प्रणालीको निर्देशिका, नक्सा, जीआइएस नक्सा र परीक्षण प्रमाणपत्र समेत बोर्डलाई हस्तान्तरण गरिएको छ ।
खानेपानी मन्त्रालयका सचिव राम आधार साहको उपस्थितिमा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच प्याकेज नं. १ को डीएमए, प्याकेज नं. २ को डीएमए घ।छ, प्याकेज नं. ३ को डीएमए ३.५ र प्याकेज नं. ४ को डीएमए टीयूको स्वामित्व हस्तान्तरण सम्बन्धी सम्झौता भएको हो ।

आज काठमाण्डौंमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले हस्ताक्षर गरे ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव राम आधार साहले काठमाडौंमा दशकौं पुराना खानेपानी वितरण प्रणालीलाई क्रमिकरूपमा विस्थापित गर्दै आधुनिक नयाँ प्रणालीबाट स्वच्छ खानेपानी वितरण शुरु भएको बताउदै यस कार्यमा संलग्न सम्बद्ध निकायहरु लगायत सबैलाई धन्यवाद दिए ।

समारोहका सभापति खानेपानी मन्त्रालयका सहसचिव तिरेश प्रसाद खत्रीले खानेपानी वितरणमा कुनै कमी कमजोरी हुन नदिई नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्न काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले बढी जिम्मेवारीपूर्ण ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताए । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले तालिकामा समावेश गरेर खानेपानीको नयाँ वितरण प्रणालीबाट खानेपानी वितरण गर्नसक्ने अवस्था रहेको बताए ।

आज हस्तान्तरण गरिएका चारवटै प्याकेजमा पर्ने क्षेत्रका करिव ८५ हजार घरहरूमध्ये २० हजार ४०० भन्दा बढी घरहरूमा पानीको प्रवाह, चुहावट मापन र परीक्षण लगायतका कार्य सम्पन्न गरी नयाँ वितरण प्रणालीबाट नियमितरूपमा खानेपानी वितरण शुरू भएको छ । बाँकी घरहरूमा पनि पानीको प्रवाह, चुहावट मापन र परीक्षण लगायतका कार्य सम्पन्न गरी खानेपानी वितरण गर्न तदारूकताका साथ कार्य हुँदै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।