नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् । बैंकले किसानलाई ऋण नदिँदा किसानले चल्ला र दाना किनेर कुखुरा पाल्न सक्ने अवस्था नरहेको उपाध्यक्ष पोखरेल बताए ।
उनले भने,“किसानले गरेको उत्पादनको मूल्य राम्रो छ, तर किसानले चल्ला हाल्नसक्ने अवस्था छैन । तीन चार वर्ष घाटा खाएका किसान फेरि घाटामा परिन्छ कि भन्ने डरले कुखुरा पाल्न सकेका छैनन् ।” बजारको माग अनुसारको उत्पादन नहुँदा देशभर कुखुराको मासुको अभाव भएको उहाँले जानकारी दिए । “ह्चारी र दाना उद्योगबाट किसानले एक दुई महिनाका लागि उद्यारो पाउने गथ्र्ये, उनले भने,“अहिले नगद बिना कारोबार हुनै छाड्यो, त्यस कारण पनि किसानले कुखुरा पाल्न सक्ने अवस्था छैन ।
अहिले व्यावसायिक रुपमा स्थापना गरिएको ठूला फर्मले मात्र कुखुरा पालेको उपाध्यक्ष पोखरेल बताए । उनले सरकारले किसानको मनोवल उच्च बनाउने योजना र कार्यक्रम ल्याउन नसके पोल्ट्री क्षेत्र थप धरासायी बन्ने बताए । आर्थिक मन्दिलगायतका कारणले नेपालमा कुखुराको मासु उत्पादन र खपत दुवै घटेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले जानकारी दिए ।
दैनिक १० लाख केजी कुखुराको मासु उत्पादन हुने गरेको नेपालमा अहिले घटेर दैनिक ६ लाख केजी मात्र उत्पादन हुने गरेको उनको भनाइ छ । उहाँले नेपालमा मासुको उत्पादनसँगै खपत पनि घटेको बताए । नेपालमा कुखुरा पाल्ने ३० हजार किसानमध्ये आधा घटेको उनले जानकारी दिए ।
“साना\ठूला सबै फर्म धरासायी छन्, यो अवस्थामा कहिलेसम्म धानिने हो”,उनले भने । नेपाल कुखुरा बजार व्यवसायी सङ्घका अध्यक्ष कृष्णहरि लोहनीले देशभर मासु अभाव रहेको बताए । चालीस दिनमा दुई किलो देखि दुई किलो पाँच सय ग्रामसम्म हुने कुखुरा अहिले एक किलो पाँच सय ग्राम मात्र हुने गरेको बताए । “गर्मीका कारण पनि यो समयमा कुखुराको वजन राम्रो हुँदैन । वजन राम्रो नहुँदा किसानलाई घाटापर्छ । त्यसकारण पनि किसानले कुखुरा पालेका छैनन्,” उनले भने । नेपालमा भारतबाट पनि लुकाइछुपाइ कुखुरा ल्याउने गरिएको छ । अहिले सिमा क्षेत्रमा कडाइ गरिएका कारण पनि त्यसरी ल्याइने कुखुरा नआएको लोहनीले बताए ।
अहिले ब्रोइलर कुखुराको किसानको खोर मूल्य दुई सय ८० रुपैयाँदेखि तीन सय रुपैयाँ रहेको छ । बजारमा उपभोक्ताले किन्दा चार सय ८० देखि पाँच सयसम्म पर्ने गरेको छ । काठमाण्डौं, पोखरालगायतका बजारमा ब्रोइलर कुखुरा खपत गर्ने चितवनलाई आफ्नै जिल्लाको उत्पादनले पुगिरहेको छैन ।
यहाँ पनि अन्य जिल्लाबाट कुखुरा ल्याउन थालिएको छ । भरतपुरको सिनर्जी मिट सप्लायर्सका सञ्चालक सुमन जोशी एक महिनादेखि कुखुराको अभवा भए पनि पछिल्लो एक सातदेखि झन् धेरै अभाव भएको बताए । उनले ब्रोइलर कुखुरा नपाउँदा आफूले बिहान पसल खोलेर बेलुका बन्द गर्नुपरेको बताए । “दैनिक रुपमा ग्राहक फर्किनुपरेको छ, उनले भने, “होटल रेष्टुराँमा पनि मासु पु¥याउन धौधौ भइरहेको छ ।” उनले गर्मीको समयमा उत्पादन कम, कुखुराको वजन कम र मृत्युदर बढी हुने गरेको जानकारी दिए ।
नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी अण्डा अभाव नभए पनि उत्पादनमा भने कमी आएको जानकारी दिए । उनले लेयर्स कुखुरा पाल्ने धेरै किसान विस्थापित भएको जनाउँदै राज्यले ठोस नीति ल्याउन नसके अझै धेरै किसानका व्यवसाय बन्द हुने बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया