थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रूपैयाँको १५ प्रतिशतले हुन आउने ७ लाख ३८ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो ।

यसमध्ये सर्वसाधारणमा जारी सेयरको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ ।

बाँकी रहेको ६ लाख ६४ हजार ८७५ कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता सेयर सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ७७५ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । यसरी बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ता सेयर असार ५ गतेदेखि सर्वसाधारणका लागी बिक्री खुला गरिएको थियो । सो आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीको आइपीओमा बिहीबार बेलुकासम्म ७ लाख ६५ हजार ६८४ जनाबाट ८५ लाख २६ हजार ३५० कित्ताको लागी आवेदन परेको छ । ८५ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि कम्पनीले गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरुको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार  ०६ : ५१ बजे