ललितपुर महानगरको बजेट १३ प्रतिशत घट्यो


ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको वार्षिक बजेटको तुलनामा १३ दशमलव ३६ प्रतिशत घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्षमा पुरक बजेटसहित महानगरले सात अर्ब ५० करोड ३५ लाख तीन हजार रुपैयाँको वार्षिक बजेट पारित गरेको थियो ।

आगामी आर्थिक वर्षका लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँको बजेट प्रस्तुत भएको महानगरका उपप्रमुख मञ्जली शाक्यले बताए ।

प्रस्तुत बजेटमा पूँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार रुपैयाँ र चालुतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ छुट्याइएको छ । विनियोजित बजेटमा सडक पूर्वाधार, सम्पदा क्षेत्र, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा सञ्चालन, हरियाली पार्क निर्माण, एक वडा एक उद्यान, एक घर एक बोट अभियान, प्रत्येक वडामा सार्वजनिक शौचालय, आयोजना बैंक निर्माण, अपाङ्गतामैत्री फुटपाथ निर्माणलाई जोड दिइएको उपप्रमुख शाक्यले प्रस्ट पारे ।

हस्तकला प्रवद्र्धन, सहुलियतपूर्ण कर्जाका लागि बीउपूँजीको व्यवस्था, खानेपानी व्यवस्थापनका लागि बजेट, विपद् व्यवस्थापनका लागि सरसफाइ एम्बुलेन्सको अवधारणा लागू गरिने बजेटमा उल्लेख छ ।

वातावरण संरक्षणमा सघाउ पुर्याउने योजनालाई प्राथमिकता दिन वातावरण प्रहरीको सुरुआत विद्युतीय सवारी खरिद गर्ने करदातालाई राजस्वमा पाँच प्रतिशत छुट दिने कुरा पनि बजेटमा समेटिएको छ । गत असार ६ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर महानगरले बजेट प्रस्तुत गरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।