भक्तपुर र मध्यपुरको बजेटमा छलफल, चाँगुनारायण र सूर्यविनायकको बजेट पारित


भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०\८१ को लागि दुई अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाका चौधौँ नगरसभाका उपप्रमुख रजनी जोशीले चालु खर्चतर्फ एक अर्ब ३७ करोड ९४ लाख र पूँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैयाँ एवं वित्तीय व्यवस्थातर्फ नौ करोड ५० लाख विनियोजन गरेकी हुन् ।

बजेटमा ख्वप इन्जिनियरिङ कलेजमा ‘बी’ ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको, नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई अनुदान दिन दुई करोड बजेट छुट्याइएको उनले बताइन् ।

त्यस्तै, शैक्षिक ऋणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको, विद्यालयहरुमा कार्यरत कर्मचारी एवं सहयोगीहरुले पाउँदै आएको तलबमा नगरपालिकाले प्रतिव्यक्ति मासिक दुई हजारको दरले थप पारिश्रमिक दिने व्यवस्था गरेको उनले बताइन् ।

नगरपालिकाले ख्वप अस्पतालमा सिटी स्क्यान खरिदको गर्न आठ करोड रुपैयाँ, भौतिक पूर्वाधार निर्माणलाई दुई करोड रुपैयाँ, सञ्चालन खर्चतर्फ तीन करोड रुपैयाँ, वडा नं १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माण गर्न ३० लाख रुपैयाँ, भनपा वडा नं ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख रुपैयाँ थप विनियोजन गरेको छ ।

त्यस्तै, खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी सङ्कलन विधिका लागि एक करोड रुपैयाँ, हनुमन्ते खोला सुधारका लागि रिटेनिङ वाल निर्माणका लागि एक करोड रुपैयाँ, अरनिको सभाभवन निर्माणका लागि तीन करोड २० लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८० लाख रुपैयाँ गरी कूल चार करोड विनियोजन गरी बहुवर्षीय योजनाका रुपमा अघि बढाएको उपप्रमुख जोशीले बताइन् ।

चाँगुनारायणको एक अर्ब ७१ करोड ६ लाख बजेट पारित

चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०\८१ का का लागि एक अर्ब ७१ करोड ६ लाख एक हजार बराबरको बजेट पारित गरेको छ । नगरपालिकाको सम्पन्न १३औँ नगरसभामा उपप्रमुख रमेश बुढथोकीले पेस गरेको चालु खर्चतर्फ ८१ करोड ७३ लाख ५६ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ ८९ करोड ३२ लाख ४५ हजार रुपैयाँ बजेट पारित गरेको हो ।

नगरपालिकाले नगरस्तरीय गौरवको आयोजनाका लागि चार करोड, खेलकुद पूर्वाधार विकास गर्न पाँच करोड, विपन्न सहयोग कार्यक्रमअन्तर्गत २० लाख, वडाका भौतिक पूर्वाधार व्यवस्थापन गर्न दुई करोड २० लाख रकम विनियोजन गरिएको छ ।

त्यस्तै, मेयर उद्यमशीलता विकास कार्यक्रमका लागि एक करोड, निःशुल्क स्वास्थ्य बीमाका लागि एक करोड, अक्सिजन प्लान्टमार्फत अक्सिजन उत्पादन गर्न २० लाख, खानेपानीका लागि ६ करोड ५३ लाख, यातायात पूर्वाधारलाई उच्च प्राथमिकतामा राखी ५० करोड ४५ लाख, चाँगुनारायण मन्दिरलगायत नगर क्षेत्रभित्रका मठमन्दिर एवं सम्पदा संरक्षणका लागि ६ करोड १७ लाख ५० हजार रुपैयाँ पारित गरेको छ ।

बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमलाई ३५ लाख रुपैयाँ, कृषि आधुनिकीकरण एवं व्यावसायिकीकरण लागि ९२ लाख ५० हजार, पशु विकासका लागि ९७ लाख, विपद्जन्य क्षतिलाई न्यूनीकरण गर्न विपद् व्यवस्थापन कोषमा तीन करोड बजेट पारित गरेको छ ।

सूर्यविनायकको बजेट पारित

त्यसैगरी, सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०\८१ का लागि दुई अर्ब १० करोड ५० लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख सरिता तिमल्सिना भट्टराईले प्रस्तुत गरेको पूँजीगततर्फ एक अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालूतर्फ ९८ करोड ५७ लाख विनियोजन रकम नगर सभाले पारित गरेको हो ।

सूर्यविनायकले कूल बजेटमध्ये आन्तरिक स्रोतबाट एक अर्ब १० करोड ६९ लाख रुपैयाँ, जिल्ला समन्वय समितिबाट दुई करोड, सङ्घ सरकारका तर्फबाट ८४ करोड ४२ लाख र बागमती प्रदेश सरकारका तर्फबाट १३ करोड ३८ लाख कूल बजेटको स्रोत व्यवस्थापन हुने अपेक्षा राखेको छ ।

मध्यपुरथिमिको बजेट २ अर्ब ९९ करोड ४० लाख

मध्यपुरथिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०\८१ को लागि दुई अर्ब ९९ करोड ४० लाख २९ हजार दुई सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट पेस गर्दै आन्तरिक आम्दानी मौज्दातसमेत ६३ करोड, राजस्व बाँडफाँड सङ्घीय र प्रदेश ३१ करोड २२ लाख ९३ हजार दुई सय, समानीकरण प्रदेश सरकार दुई करोड २९ लाख ५० हजार, समानीकरण सङ्घीय सरकार २० करोड ८० लाख, ससर्त अनुदान चालु र विशेष सङ्घीय सरकार २६ करोड ६० लाख, ससर्त अनुदान पूँजीगत सङ्घीय सरकार एक करोड ४० लाख, ससर्त अनुदान सङ्घीय समपूरक अनुदान दुई करोड ३० लाख, नगद लागत सहभागिता ६० लाख, ससर्त अनुदान प्रदेश सरकार समपूरक अनुदान तीन करोड र ससर्त अनुदान चालु र विशेष अनुदान प्रदेश सरकार चार करोड ६९ लाख १० हजार आम्दानी हुने उल्लेख छ । रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।