अनियन्त्रित सवारी नियन्त्रण गर्न ‘राडर गन’को प्रयोग


एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले हिजोआज ‘राडर गन’को प्रयोग गर्न थालेको छ ।

तीव्र गतिले निम्त्याउने सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सो प्रविधि सुरु गरेको हो । एयरपोर्ट–तीनकुने सडकमा यातायात व्यवस्था विभागले तोकेको गतिभन्दा बढी सवारी कुदाउनेलाई कारबाही थालिएको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘राडर गन’को प्रयोगपछि एयरपोर्ट–तीनकुने सडकमा तोकिएको मापदण्ड भन्दाबढी गतिमा सवारी चलाउने दैनिक २० देखि २५ सवारी चालक कारबाहीमा पर्ने गरेको एयरपोर्ट ट्राफिक पोष्टका प्रमुख शेरसिंह धामीले जानकारी दिए । उनका अनुसार कारबाहीमा पर्नेमा मोटरसाइकल बढी छन् ।

चारपाङ्ग्रेमा मिनिट्रकले तीव्र गतिमा गुडाउने गरेको भेटिएको छ । ट्राफिक प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई  एक सय रुपैयाँ जरिवाना गर्ने गरेको छ । राडर गनको ट्रिगरलाई औँलाले दबाएपछि त्यसको विकीरण सडकमा गुडिरहेको सवारीमा पर्ने तथा कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अङ्क देखाउने गरेको प्रमुख धामीले बताए ।

उनले भने, “एक पटकमा एउटा गाडीको मात्र गति पत्ता लगाउन सकिने तथा धेरै गाडी गुडेका बेला गति पत्ता लगाउनुपर्दा जुन गाडी तीव्र गतिमा गुड्छ, त्यसको मात्रै स्पिड पत्ता लगाउन सकिन्छ ।”

काठमाण्डौंमा रहेका छ लेनका सडकमा यातायात व्यवस्था विभागले प्रतिघण्टा ६० किमि गुडाउन सकिने मापदण्ड तोकेको छ । प्राय तीव्र गतीमा मोटसाइकल कुद्ने भएकाले ट्राफिकले यहाँका सडकमा विषेश गरी मोटरसाइकल चालकलाई निगरानी गरेर कारबाही गर्ने गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।