अवैध मदिरा खरिदबिक्री गर्नेलाई कारबाही गर्ने आईआरडीको चेतावनी

0
Shares

आन्तरिक राजस्व विभागले अवैध मदिरा खरिदबिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। विभागले मंगलबार एक सूचना प्रकाशित गरी यस्तो चेतावनी दिएको हो।

विभागले अवैध चोरी पैठारी भएका मदिरा बिक्री वितरण बढेको भन्दै अन्तःशुल्क स्टीकर टाँस गरिएका स्वदेशी तथा विदेशी मदिरा मात्रै बेच्न आग्रह गरेको छ ।

हाल बजार अनुगमनका क्रममा विभिन्न व्यवसायी, होटेल, क्यासिनो, पार्टी प्यालेस, ब्यांक्वेट, रेस्टुरेन्ट समेतले अवैध रुपमा चोरीपैठारी भई आएका विभिन्न ब्रान्डका विदेशी मदिराको भण्डारण, सञ्चय, खरिदबिक्री एवं प्रयोग गरिरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ।

अन्तःशुल्क ऐन, २०५८ तथा नियमावली, २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोबार गर्नुपर्ने, अन्तःशुल्क टिकटक लगाइएका मदिराहरुको मात्र खरिदबिक्री गर्नुपर्ने तथा विदेशबाट पैठारी भई आएका मदिराजन्य वस्तुमा विभागले तोकेबमोजिमको स्थानमा अन्तःशुल्क टिकट टाँस गरेरमात्र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको विभागले प्रष्ट पारेको छ।

कानुनी व्यवस्था विपरीत कोही कसैले मदिरा पैठारी, खरिद, बिक्री वा प्रयोग लगायतको कारोबार नगर्न नगराउन विभागले आग्रह गरेको छ । अनुगमनका क्रममा कोही कसैले कानुनी व्यवस्था उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।