ललिता निवासको जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ


ललिता निवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई आज उनको निवास नक्सालबाट पक्राउ गरेको हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो ।

न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो।

गुरुङ नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट भाटभटेनीका सञ्चालक हुन् ।

सरकारी जग्गा हडप्नकै लागि गुरुङले भूमाफियाहरुसँग सम्पर्क बढाएर ललितानिवासको जमिन सस्तोमा किनेका थिए । गुरुङले त्यसलाई प्लटिङ गरी व्यापारिक घरानासहित विभिन्न व्यक्तिलाई बेचेका थिए ।

जग्गाको कारोबारमा उनी पनि जोडिए पनि अहिलेसम्म पक्राउ परेका थिएनन्।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।