मासु उत्पादन गर्ने कृषकलाई २५ लाख अनुदान


गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ ।उनीहरुलाई मासु उत्पादनका आधारमा २५ लाख रुपैयाँ अनुदान वितरण गरिएको हो ।

चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

पशुपालक किसानलाई गाउँपालिकाले राँगाको प्रतिकिलो १५ रुपैयाँ तथा खसी, बोका र थुमाको प्रतिकिलो ३० रुपैयाँ अनुदान उपलब्ध गराएको छ । चालु आवमा दुई हजार तीन सय ७९ बोका, खसी र थुमाको तौल लिएर अनुदान रकम वितरण गरिएको अध्यक्ष भट्टले बताए ।

यसबाहेक एक सय २१ राँगाको पनि तौल लिएर किसानलाई अनुदान उपलब्ध गराइएको छ । गाउँपालिकाले सम्बन्धित वडाका पशुसवा प्राविधिकको निगरानीमा किसानको घरघरमा पुगेर राँगा तथा खसी, बोका र थुमाको तौल लिइएको थियो । गाउँपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले गाउँपालिकाले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको अध्यक्ष भट्ट बताउँछन् ।

“किसानले पालेर बिक्रीका लागि योग्य भएका राँगा, खसी, बोका र थुमाको तौल मापन गरी अनुदान उपलब्ध गराइएको हो”, उनले भने, “पशुपालक किसानलाई उत्पादनतर्फ आकर्षित गर्न तथा पालिकाभित्र मासु र मासुजन्य उत्पादन बढाउने योजनाअन्तर्गत कार्यक्रम अघि बढाइएको हो ।” कार्यक्रमबाट गाउँपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने उनको विश्वास छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।