चौधरी ग्रुपको लगानी रहेको हिमालयन ब्रुअरीको वार्षिक आम्दानी ५३ करोड

0
Shares

चौधरी ग्रुप अन्तर्गतको सिजी होल्डिङ्सको लगानी रहेको हिमालयन ब्रुअरीले सन् २०२२ मा ५२ करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा ३४ करोड ८० लाख आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी ५१.४३ प्रतिशतले बढेको हो । कम्पनीको आम्दानीमा वृद्धि भएता पनि वित्तीय सूचांकहरु कमजोर देखिएका छन् ।

सन् २०२२ मा कम्पनीले ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहित कुल सञ्चालन आम्दानीको ७.७७ प्रतिशत नाफा गरेको छ । जुन सन् २०२१ मा कुल सञ्चालन आम्दानीको १४.०८ प्रतिशत थियो ।

सन् १९८१ मा स्थापना भएको कम्पनीको प्लान्ट ललितपुरको गोदावरीमा रहेको छ। कम्पनीले विशेषतः काठमाडौँ, आइस बर्ग, निन्जा, कोमान्डो र हिमालयन ब्रान्डनामबाट बियरहरुको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले प्रिमयिम, सेमी–प्रिमियम, स्ट्रोङ र एक्स्ट्रा स्ट्रोङ सेग्मेन्टमा बियरहरुको बिक्री वितरण गर्दै आएको छ।

कम्पनीका प्रबन्ध निर्देशक अरुण कुमार चौधरी रहेका छन् । सन् २०१९ मा चौधरी ग्रुपले हिमालय ब्रुअरी लिमिटेडलाई अधिग्रहण गरी प्राइभेट लिमिटेड बनाएको थियो।

७२ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । ५६ करोड २४ लाख ३० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी बी प्लस र १५ करोड ७५ लाख ७० हजार बराबरको अल्पकलाीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सकने क्षमता कुल कर्जाको ०.८६ गुणा रहेको छ । कम्पनीले आम्दानी भन्दा धेरै ऋण लिएको छ । अनुभवी एवं नेपालको प्रतिष्ठित व्यापारिक घराना कम्पनीको प्रमोटर रहेको हुँदा कम्पनीलाई वित्तीय सहयोग मिलिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।