नबिल बैंकले ९% ब्याजदरमा तीन अर्बको ऋणपत्र निष्कासन गर्ने, अनुमति माग

0
Shares

नबिल बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदर दिनेगरी तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । सात वर्षको दीर्घकालीन लगानी स्रोत जुटाउनका लागि बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले असार १७ गते आइतबार ७ वर्ष अवधिको ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्न पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कुल निष्कासनमा आउने ३० लाख कित्ता इकाई ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता इकाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने भनेछ भने ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता इकाई आम सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

डिबेन्चर निष्कासनको लागि बैंकले यसअघि नै बैंक सञ्चालक समितिबाट निर्णय गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको थियो । त्यस्तै बैंकले ऋणपत्र निष्कासनको लागि बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ । पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिवेन्चर निष्कासनले सहयोग पु-याउने विश्वास बैंकको छ ।

नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।