मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ बिक्री खुला


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

सर्वसाधारण लगानीकर्ताका लागि भने सो आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आईपीओ निष्काशन गर्नेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि जारी गर्ने सेयरमा दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा विगु गाउँपालिका वडा नम्बर ४ र कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का बासिन्दाले आवेदन दिन पाउनेछन् ।

स्थानीय बासिन्दामा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ करोड मूल्यको ८ लाख कित्ता निष्कासन गरेको छ । यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि सर्वसाधारणमा जारी गर्ने जारी पुँजीको २५ प्रतिशतमध्ये त्यसको १० प्रतिशतले हुन आउने २ करोड मूल्यको २ लाख कित्ता आईपीओ निष्काशन गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड र जारी पूँजी ८० करोड रुपैयाँ छ । जारी पुँजीको ३५ प्रतिशत सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले जारी गर्ने सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यस्तै अधिकतम कित्ताको हकमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाले अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय काठमाण्डौं १० अनामनगर, गौरीशंकर गाउँपालिकाको कार्याल दोलखा तथा प्रभु बैंक र सिन्धु विकास बैंकको शाखा कार्यालय गौरिशंकर दोलखा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स बचत खाता खुला गरी पछिल्लो ६ महिनाभित्र ५० हजार रुपैयाँ रेमिट्यान्स रोजगारीमा गउको मुलुकबाट नेपाल पठाएको हुनुपर्ने व्यवस्था छ ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । सो रेटिङ्ग को वैधता अवधि एक वर्ष अर्थात् २०८० असार २८ गतेसम्म रहनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

कहिलेसम्म दिन सकिन्छ आवेदन ?

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुबैको आईपीओ छिटोमा साउन २ गतेसम्म खुला हुनेछ । स्थानीय बासिन्दाको हकमा भने उक्त छोटो अवधिभित्र सबै सेयर बिक्री नभएको खण्डमा आवश्यकता अनुसार ढिलोमा साउन १७ गतेसम्म निष्कासन खुला रहने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।