मनसुनी वायुको प्रभावले बुधबार बिहानैदेखि वर्षा, जनजीवन प्रभावित


मनसुनी वायुको प्रभावले बुधबार बिहानैदेखि काठमाण्डौं उपत्यका लगायत विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज दिनभर नै मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन\चट्याङसहित भारी वर्षा हुने बताइएको छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।