उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन

उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल महासंघ अन्तरगतको पुँजी बजार फोरमको सदस्यमा चयन भएका हुन् ।

नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई उक्त फोरमका सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पुँजी बजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तीसँगै आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ ।

ढकाल भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) का अध्यक्ष हुन् । नयाँ ब्रोकरले लाईसेन्स अनुमति पाउनुमा ढकालको ठूलो योगदान छ । संसदको अर्थ समितिले तत्काल ब्रोकर लाईसेन्स रोक्ने निर्णय गरेको अवस्थामा उनले उक्त समिति अन्तरगतका हरेक संसदलाई भेटी पुँजी बजारको दायरा र नयाँ ब्रोकरको सम्बन्धमा वास्तविकता बुझाएर सबैलाई नयाँ ब्रोकर लाईसेन्स दिलाउन सफल भएका थिए ।

ढकालसँग हालसम्म आधादर्जन वित्तीय संस्थामा संचालकको रुपमा रहेर काम गरेको अनुभव छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद समेत हुन् । हाल उनी पाटन उच्च अदालत बारको कार्यकारी सदस्य समेत रहेका छन् ।

आफु पुँजी बजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने ढकालले बताए । "हीतग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आवद्ध रहेको सेयर बजार अहिले सिथिल भएको छ," उनले भने, "आगामी दिनमा लगानीकर्ताको मनोवन उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु ।"

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार १९ : ३६ बजे