आईएमई लाइफको आईपिओमा कति पर्यो आवेदन ?


आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा प्रिमियममा प्राथमिक निष्काशन भएको सेयर बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ । कम्पनीले सेयर निष्काशन गरेको अवधिमा कुल १२ लाख ९० हजार ७४१ वटा आवेदन परेसँगै गोलाप्रथाबाट सेयर बाँडफाँड हुने भएको हो ।

उल्लेखित संख्याको आवेदनबाट १ करोड ५७ लाख ८७ हजार १५० कित्ता सेयर माग भएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ । सिडिएससीका अनुसार निष्काशन बन्द हुने दिन सोमबार बिहान १० बजेसम्ममा इन्स्योरेन्सको सेयरमा १० लाख ८४ हजार ५०९ वटा आवेदन परेको थियो । अन्तिम दिन सोमबार मात्र कम्पनीको साधारण सेयरमा २ लाख ६ हजार २३२ वटा आवेदन परेको हो । निष्काशन बन्द हुँदासम्म माथि उल्लेखित आवेदनबाट ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७०६ रुपैयाँ बराबरको सेयर माग भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी २३६ रुपैयाँ ९१ पैसाको दरमा ९६ लाख कित्ता सेयर सर्वसाधारमा निष्काशन गरेको थियो । उक्त सेयर १० कित्ताको दरले वितरण गर्दा ९ लाख ६० हजार आवेदकले पाउने छन् भने बाँकी ३ लाख ३० हजार ७४१ आवेदकले पाउने छैनन् । अर्थात कुल आवेदक मध्ये २५.६२ प्रतिशत आवेदकको हात खाली हुनेछ ।

इन्स्योरेन्सले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले ५ प्रतिशतले हुने ६ लाख कित्ता सामुहिक लगानी कोष तथा ५ प्रतिशतले हुने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरेर बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीले १ करोड २० लाख कित्ता सेयर निष्काशन गरी १ अर्ब २० करोड रुपैयाँले पुँजी बिस्तार गरी ४ अर्ब पुर्याएको छ । कर्मचारीलाई अंकित मूल्यमा बिक्री गर्ने ६ लाख कित्ता बाहेकको प्रिमियममा बेचेको १ करोड १४ लाख कित्ता सेयरबाट कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसाका दरले १ अर्ब ५६ करोड ७ लाख ७४ हजार रुपैयाँ प्रिमियम संकलन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।