निलगिरी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा


जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणको काम ८२ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी १०९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि जलविद्युत आयोजनाले जनाएको हो ।

नारच्याङमा १६ अर्ब रुपैयाँको लागतमा १०९ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका आवासीय इन्जिनियर रत्नबमजन तामाङले जानकारी दिए । उनका अनुसार असार तेस्रो सातासम्म दुवै जलविद्युत आयोजनाको ८२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

नीलगिरि खोला हाइड्रोपावरले चार वर्षअघि एकैसाथ निजी क्षेत्रको लगानीबाट दुवै आयोजना निर्माण सुरु गरेको थियो । यो जिल्लाकै ठूलो आयोजना हो । कठिन भूगोलका अक्करे पहाडलाई छिचोलेर आयोजनाका संरचनाहरु निर्माण गरिएका छन ।

आयोजनाका अनुसार दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युत्गृह निर्माणको काम सकिएको छ । नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकेर ढलानको काम थालिएको इन्जिनियर तामाङले जानकारी दिए । पेनस्टक र टनेल खन्ने काम सकेर पहिलोको आठ सय मिटर र दोस्रोको एक हजार पाँच सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको छ ।

तामाङका अनुसार नीलगिरि पहिलोको विद्युत गृहबाट निस्किने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत गृह निर्माण गरिएको छ । क्यासकेडको विद्युत गृहदेखि नीलगिरि पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ ।

दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन । नीलगिरिखोलाबाट उत्पादन भएको बिजुली दुई सय २० केभिए क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिने छ ।

छोटेपा–दोबिल्ला हँुदै दाना सबस्टेसन जोड्ने आठ दशमलव पाँच किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि २४ वटा मध्ये २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको आयोजनाले जनाएको छ ।

दुवै आयोजनाका लागि निर्माण गरिने विद्युत गृहको सिभिल स्ट्रक्चरको काम सकिनुका साथै इलेक्ट्रोमेकानिकलको काम थालिएको छ । भौगोलिक विकटता भएर पनि आयोजना निर्माणले तिब्रता पाएको इन्जिनियर लामाले बताए ।

आगामी छ महिनाभित्रमा दुवै आयोजना एकसाथ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाई छ ।

४ वर्ष अघि निर्माण सुरु भएको आयोजनाले सर्वसाधारण तथा आयोजना प्रभावितका लागि सेयर निष्काशन गर्न बाँकी छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।