प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको नर्भिक अस्पतालमा निधन भएको छ । अस्पताल स्रोतका अनुसार ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी दाहालको निधन भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । 

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । अन्य विशिष्ट व्यक्तित्वहरु, पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।