२५ अंकले बढेको बजार २१ सय अंक नजिक, जलविद्युतमा मोडिए लगानीकर्ता


विभिन्न उपसमुहमा चक्र बनाउँदै घुमिरहेका लगानीकर्ता बुधबार जलविद्युत कम्पनीको सेयरमा केन्द्रित भएका छन् । बजार २५ अंकले बढ्दा धेरैजसो जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ताको कारोबार चाप देखिएको छ ।

बुधबार बजार परिसुचक नेप्से २५.३१ अंकले बढेर २०९७.५५ अंकमा उक्लिएको छ । पछिल्ला केही दिनयता नेप्से २१०० विन्दुको वरिपरि कुमिरहेको छ । केही दिनको वृद्धि तथा केही दिनको गिरावटकाबीच नेप्से २१०० अंकको वरीपरि अडिएको हो ।

बजार खुलेको केही समयसम्म स्फुर्त रुपमा कारोबार हुन सकेको थिएन । अनलाइन प्रणालीमा आएको समस्याका कारण झण्डै २० मिनेट प्रभावित हुँदा पनि ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको सेयर किनबेच भएको हो ।

बुधबार २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ५९ हजार ५३९ पटक किनबेच भएका छन् । नेप्सेका अनुसार बुधबार १८५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घट्दा एक कम्पनीको स्थिर रहेको छ । १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा ४० वटा कम्पनीको सेयर मूल्य ५ देखि ८ प्रतिशतसम्मले बढेको छ ।

शिभश्री हाइड्रो, सिवाईसी नेपाल लघुवित्त, रिभर फल्स, लक्ष्मी इक्विटी फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप, शुभम पावर, नेशनल हाइड्रो, कुमारी धनवृद्धि योजना, दिव्यश्वरी हाइड्रो, अरुण काबेली पावर लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

भर्खरै सर्वसाधारणमा सेयर निष्काशन गरेर कारोबारमा आएको रावा इनर्जीको सेयर मूल्य उच्च विन्दुमा पुगेर ओरालो लाग्दा १० प्रतिशतले घटेको छ । त्यसैगरी नेपाल फाइनान्सको ५ प्रतिशतले घटेको बजारमा समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक लगायत कम्पनीको सेयरमूल्य धेरै घटेको छ ।

कारोबार रकम र कारोबार संख्याका आधारमा शिवम् सिमेन्टको अधिक कारोबार भएको बजारमा कारोबार संख्याका आधारमा मोदी इनर्जी पहिलो स्थानमा छ ।
बजारमा आएको सुधारसँगै ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.२८ अंकले बढेर ३९२.१५ अंकमा पुगेको छ भने कारोबारयोग्य सेयरको गणना गर्ने सेन्सेटिभ इण्डेक्स १.६७ अंकले बढेर १४४.८८ अंकमा उक्लिएको छ ।

बजार बढेसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार देखिएको छ । बुधबार यस्तो पुँजीकरण ३० खर्ब ८३ अर्ब १९ करोड ४० लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।

असार मसान्त लाग्दै गर्दा बैंक वित्तीय संस्थामा भएको तरलता सहजका साथै अन्य वित्तीय सूचकांकले व्याजदरलाई घटाउने संकेत हुँदा बजार सुधार हुने अपेक्षा लगानीकर्ताको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।