सर्वोत्तम स्टील्सले ८ महिनामा गर्यो पौने ५ अर्ब सञ्चालन आम्दानी


व्यापारिक घराना शौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टील्सले चालु आवको ८ महिनामा ४ अर्ब ७७ करोड ४३ लाख सञ्चालन आम्दानी गरेको छ । गत आवमा ८ अर्ब ९३ करोड ३५ लाख बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको कारोबार चालु आवमा घटेको हो ।

गत आवको कुल सञ्चालन आम्दानी र चालु आवको ८ महिनाको आम्दानी तुलना गर्दा चालु आवको आठ महिनामा कम्पनीको सञ्चालन आम्दानीमा १९.८ प्रतिशतको गिरावट आएको हो ।
कम्पनीको सञ्चालन आम्दानीमा गिरावट आए पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा बढेको छ । गत आवमा कुल सञ्चालन आम्दानीको २.४ प्रतिशत रहेको उक्त नाफा चालु आवमा ६ प्रतिशतले बढेर ८.४ प्रतिशत पुगेको हो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले बिलेट तथा टिएमटी छडहरुको उत्पादन गर्दै आएको छ । कम्पनीको बिलेट उत्पादन क्षमता प्रति वर्ष २ लाख ६४ हजार मेट्रिक टन र टिएमटी छड उत्पादन गर्ने क्षमता २ लाख ३५ हजार मेट्रिक टन रहेको छ । यद्यपी कम्पनीले पूर्ण क्षमतामा उत्पादन गरिरहेको छैन ।

कम्पनीमा सौरभ ग्रुपको लगानी रहेको छ भने प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपाने छन् । कम्पनीले ४ अर्ब ६३ करोड ४० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । २ अर्ब २ करोड ९० लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले डबल बी माइनस र २ अर्ब ६० करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए ४ रेटिङ दिएको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.२ गुणा रहेको छ ।

पछिल्लो समयमा निर्माणका कामहरुले तीव्रता लिन नसक्दा स्टील उद्योगहरुको आम्दानी घट्दै गएको छ भने स्टील उद्योगहरुबीचको बढ्दो प्रतिस्पर्धाले समेत कम्पनीको आम्दानी प्रभावित बनेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।