आठ कम्पनीको एकैसाथ रोकियो नेप्सेमा सेयर कारोबार

0
Shares

आठ कम्पनीहरूको सेयर कारोबार एकैसाथ रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मर्जर प्रयोजनका लागि एकैपटक नेप्सेमा सूचीकृत दुई वाणिज्य बैंक सहित ८ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

आठ वटै कम्पनीको सेयर कारोबार असार २८ गते बिहीबार नेप्सेमा अन्तिम पटक खरिद बिक्री भएको थियो । नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम मर्जर र प्राप्ति प्रयोजनका लागि सेयर अनुपात मिलान लगायतका कामहरु गर्नका लागि बढमिा १५ दिनसम्म सेयर कारोबार रोक्का गर्नसक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्था बमोजिम नेप्सेले लक्ष्मी बैंक, सनराइज बैंक, प्रभु लाइफ इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, समीट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो । यी आठवटै कम्पनीको सेयर कारोबार आइतबारदेखि बढीमा १५ दिनसम्म नेप्सेमा रोक्का रहनेछ । विसं २०७९ गत कात्तिक २४ गतेदेखि लागू गरिएको मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका बमोजिम एकीकृत कारोबार सुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र कारोबार रोक्का हुने व्यवस्था छ ।

मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ लागू भएपछि वर्षौसम्म सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का हुने व्यवस्था हटेको छ । यसअघि सूचीकृत कम्पनीहरुबीच एक आपसमा प्रारम्भिक मर्जर सम्झौता भएपछि मर्जर पूरा भई सेयर मिलान नहुन्जेल (दोस्रो बजारमा सेयर सूचीकृत हुदाँसम्म) सम्म धितोपत्रको दोस्रो बजारमा कारोबार रोकिने गरेको थियो ।

दश कम्पनी मर्जर तथा प्राप्ती प्रकृयामा रहेकामा एक कम्पनीले प्राप्ती गरेको र अर्को एक कम्पनी नेप्सेमा सूचीकृत नभएका कारण ती दुई कम्पनीको भने सेयर कारोबार रोक्का नरहेको हो । यस्तै मर्जरमा जाने सबै कम्पनी र प्राप्ति प्रयोजनका लागि प्राप्ति हुने कम्पनीको मात्र सेयर कारोबार रोक्का हुने गरेको छ ।

कुन कम्पनीको कुन कम्पनीसँग हुँदैछ मर्जर ?

साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएर शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको छ । दुई बैंकबीच समान एक बराबर एक अनुपातको सेयर स्वाप रेसियोमा मर्जर सम्पन्न भएको हो । असार २९ गतेदेखि लागू हुने गरी नेप्सेले दुबै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

यस्तै मर्जरको क्रममा रहेका प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच पनि शुक्रबारदेखि नै एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनीले ‘ प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार थालेका छन् । प्रभु लाइफसँग मर्जरमा गएको महालक्ष्मी लाईफ इन्स्योरेन्स भने धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको छैन । नेप्सेले असार २९ गतेदेखि लागू हुने गरी प्रभु लाइफको सेयर कारोबार रोक्का गरेको छ ।

यस्तै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तले भोलि असार ३० गते शनिबा।देखि एकीकृत कारोबार सुरू गर्दैछन् । नेप्सेले असार ३० गतेदेखि लागू हुने गरी दुई लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो । विजय लघुवित्त र सारथी लघुवित्तले समेत असार ३१ गते आइतबारदेखि एकीकृत कारोबार सुरू गर्दैछन् । नेप्सेले असार ३० गते आइतबारदेखि लागू हुनेगरी दुबै लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।

यस्तै असार असार ३१ गतेदेखि नै अर्का दुई लघुवित्तहरु आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले एकीकृत कारोबार सुरू गर्दैछन् । आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेकाले आशाको सेयर कारोबार भने रोक्का हुने छैन ।

एकीकृत कारोबार पश्चात सेयर स्वाप अनुसारको हिसाब मिलानदेखि आशा लघुवित्तको नाममा सेयर सूचीकृत नहुन्जेलसम्म लागि राष्ट्र उत्थान लघुवित्तको भने असार ३१ गतेदेखि बढीमा १५ दिनका लागि सेयर कारोबार रोक्का भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।