बाराही हाइड्रोपावरलाई १००% हकप्रद बेच्न विद्युत नियमन आयोगको स्वीकृति

0
Shares

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री गर्न विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ ।

कम्पनीको सञ्चालन तथा अनुपालना अधिकृत सन्दिप कुमार शर्मा पौडेलले असार २६ गते मंगलबार आयोगले शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद बिक्री गर्न अनुमति दिएको हो ।

पौडेलका अनुसार कम्पनीले शतप्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगमा प्रस्ताव पूर्वस्वीकृतीका लागि पेश गरेकोमा विद्युत नियमन आयोगको पत्र संख्या २०७९–८० चलानी नं १२५० बाट असार २६ गते मंगलबार हकहप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेश गर्न सहमति प्रदान गरिएको जानकारी दिए ।

कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १ बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने निर्णय गरेर साधारण सभामा पेश गर्न २०८० बैशाख २७ गते स्वीकृतिका लागि आयोग समक्ष निवेदन दिएको थियो ।

आयोगबाट स्वीकृति पाएसँगै अब बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले साधारण सभाबाट हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ । सभाबाट पारित भएको हकप्रद पुँजी बजारको नियामक नेपाल धितोपत्रबाट बिक्री अनुमति पाएपछि मात्र सर्वसाधारणमा बिक्रीमा आउनेछ ।

उक्त हकप्रदबाट संकलन हुने रकम कम्पनीको ५१ प्रतिशत सेयर स्वामित्व रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलिविद्युत (क्यास्केड) आयोजना ०.७५ मेगावाट निर्माणका लागि उपयोग हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित एक बराबर एक प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले २०७९ मंसिर २१ देखि २६ गतेसम्म सर्वसाधारणमा ५ लाख ५४ हजार कित्ता आईपीओ बिक्री गरेको थियो । हालसम्म कम्पनीले लगानीकर्तालाई कुनैपनि लाभांश वितरण गरेको छैन । तेस्रो त्रैमाससम्म कम्पनीले ९६ लाख ४९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ ८० पैसा र प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ १५ पैसा ऋणात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।