जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. महत भारत प्रस्थान

0
Shares

जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् ।

भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका हुन् । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् ।

अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किनेछन् । नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउनेछन् ।

जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशिता लगायतका सत्रमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवं सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोग लगायतका विषय बैठकमा उठाइनेछन् । बैठकको अध्यक्षता भारतीय वित्तमन्त्री निर्मला सीतारमण र रिजर्भ बैंक अफ इन्डियाका गभर्नर डा. शक्तिकान्त दासले संयुक्त रुपमा गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।