आर्थिक वर्षको अन्तिम दिन दोहोरो अंकले बढ्यो सेयर बजार, म्युचुअल फन्डमा लगानीकर्ता आकर्षित

0
Shares

चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार धितोपत्र बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.१६ अङ्कले उकालो लागेर २०९७ दशमलव ०९ अंकमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ प्रतिशत अर्थात २.९० अङ्कले उकालो लागेर ३९४ दशमलव १५ अंकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ उपसमुहगत सूचकमा वृद्धि हुँदा ५ को घटेको छ ।

यसदिन २८६ कम्पनीका कूल ७१ लाख ८४ हजार ३५४ कित्ता सेयरहरु २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७४ मूल्यमा खरिद बिक्री भएका छन् । ३९ हजार ३७ वटा संख्यामा उक्त सेयर खरिद बिक्री भएको हो । गत शुक्रबार ९३ लाख ८२ हजार कित्ता सेयर ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्टस् शीर्ष स्थानमा रहेको छ । कम्पनीको १९ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख ४५ हजार रुपैयाँ, माउन्टेन इनर्जीको ९ करोड ८४ लाख ९१ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर ७ करोड ६२ लाख ७४ हजार र एशियन लाइफ इन्स्योरेन्सको ७ करोड५९ लाख ९८ हजार रुपैयाँमा खरिद बिक्री हुँदै शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आइतबार ६ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यसदिन सनराइज फोकस्ड इक्वीटी फन्डको १० प्रतिशत, एनआईबिएल ग्रोथ फन्डको ९.९२, सानिमा ग्रोथ फन्डको ९.९०, सिटिजन म्युचुअल फन्ड–२ को ९.८३, १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चरको ९.४१ र ग्रामीण विकास लघुवित्तको ९.३१ प्रतिशतले बढेको हो ।

आइतबारको बजारमा जलविद्युतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । जसमा लिवर्टी इनर्जी कम्पनीका सेयरधनीले सर्वाधिक ५.९६ प्रतिशतका दरले गुमाएका हुन् । यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको ५.८३ प्रतिशत, ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स डिबेञ्चरका लगानीकर्ताले ३.९४ प्रतिशत, हिमालयन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.८६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले ३.७१ प्रतिशतले गुमाएका छन् ।

आइतबारको वृद्धिसँगै कुल बजार पुँजीकरण बढेर ३० खर्ब ८२ अर्ब ५१ करोड ९५ लाख रुपैयाँमा समेटिएको छ । गत शुक्रबार ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।