चालु आवको पहिलो दिनमै नेप्से परिसूचकमा ४७ अङ्कको बढोत्तरी, लगानीकर्ता उत्साहित

0
Shares

नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७.०७ अङ्कले उकालो लागेर २१४४ दशमलव १६ अंकमा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयरकारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९५ अङ्कले उकालो लागेर ४१०.१० अंकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सूचकमा वृद्धि भएको छ भने एक उपसमूहको सूचक भने ओरालो लागेको छ ।

कूल ७६ लाख ३४ हजार १९० कित्ता सेयरहरु २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँमा कारोबार भएको छ । जानकारहरुका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको१४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार ८९९ रुपैयाँ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७ करोड ७५ लाख १३ हजार ६७२ रुपैयाँ, सोल्टी होटल ७ करोड ७३ लाख ३२ हजार २४८ रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख ७६ हजार १६३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बिपिडब्लु लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त ९.८७ प्रतिशत, सिर्जनशील लघुवित्त ७.८० प्रतिशत र मल्टिपपर्स लघुवित्तका लगानीकर्ताले ७.३२ प्रतिशतले कमाएका छन् ।
यस्तै कुमारी धनवृद्धि योजना ८.३७ प्रतिशत, सानिमा ग्रोथ फण्ड ७.५१, सानिमा लार्ज क्याप फण्ड ६.२८, बैंक अफ काठमाडूको ऋणपत्र ५.८६ र मेगा म्युचुअल फण्ड–१ का लगानीकर्ताले ४.६३ प्रतिशतले गुमाएका छन् ।

सोमबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३१ खर्ब ५० अर्ब ९१ करोड ३६ लाख ६९ हजार रुपैयाँमा समेटिएको छ । आइतबार कुल बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५१ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।