आवश्यक विवरण उपलब्ध नगराउँदा ३ संस्थालाई रेटिङ वीथड्रलको चेतावनी

0
Shares

रेटिङ एजेन्सी ‘केयर रेटिङ्गस नेपाल लिमिटेड’ ले तीन कर्पोरेट कम्पनीहरुलाई रेटिङ वीथड्रलको चेतावनी दिएको छ । कर्जा रेटिङका लागि आवश्यक पर्ने वित्तीय जानकारी तथा तथ्यांक कम्पनीहरुले उपलब्ध नगराएपछि उक्त रेटिङ एजेन्सीले वीथड्रलको चेतावनी दिएको हो ।

कर्जा पुनः पुष्टिका लागि आवश्यक पर्ने जानकारी उपलब्ध गराउन अनुरोध गर्दै इमेल, पत्र पठाउँदा तथा बारम्बार टेलिफोन सम्पर्कका लागि प्रयास गर्दा समेत कम्पनीहरुले कुनै चासो नदेखाएपछि एजेन्सीले ती कम्पनीहरुलाई ‘इस्यूअर नट को–अपरेटिङ’को सूचीमा राख्दै रेटिङ वीथड्रल गर्ने चेतावनी दिएको छ ।

एजेन्सीले हाइटेक्स कार्पेट प्रालि, सगरमाथा एग्रो ट्रेडिङ प्रालि र बालाजी सिमेन्ट इन्डष्ट्रिज प्रालिको रेटिङ वीथड्रल गर्ने जनाएको छ । हाइटेक्स कार्पेट प्रालिले १ अर्ब १९ करोड ८१ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएपछि सम्पर्क विहीन बनेको छ । जसकारण रेटिङ गरिएको कर्जाको समीक्षा हुन सकेको छैन । कम्पनीहरुले ऋणका लागि रेटिङ गराएको ६ महिना अवधिपछि कम्पनीको वित्तीय सूचकांकलाई आधार मानी रेटिङको समीक्षा हुने गरेको छ ।

यस्तै सगरमाथा एग्रो ट्रेडिङ प्रालिले यसअघि ६३ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको थियो । तथापि रेटिङपछि सगरमाथा एग्रो ट्रेडिङ कम्पनी समेत सम्पर्कमा आएको छैन । रेटिङ समीक्षाका लागि आवश्यकपर्ने जानकारी उपलब्ध गराउन भनी सम्पर्क गर्दा कम्पनी सम्पर्कमा नआएपछि केयर नेपालले कम्पनीलाई रेटिङ वीथड्रल गर्ने सूचना दिएको हो ।

सन् २०१६ मा निर्माण सुरु भई सन् २०१९ बाट क्लिंकर तथा सिमेन्टको उत्पादन सुरु गरेको बालाजी सिमेन्ट इन्डष्ट्रिजले पनि यसअघि २ अर्ब ४१ करोड ६४ लाख बराबरको दीर्घकालीन तथा अल्पकालिन कर्जाका लागि रेटिङ गराएको थियो । रेटिङको समीक्षा अवधि हुँदा पनि कम्पनी एजेन्सीको सम्पर्कबाट बाहिर रहेपछि एजेन्सीले बालाजी सिमेन्ट इन्डष्ट्रिजलाई समेत रेटिङ वीथड्रलको सूचीमा राखेको छ ।

पछिल्लो समयमा विविध कारणले एजेन्सीहरुले कम्पनीहरुको रेटिङ वीथड्रल गर्दै आएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।