आजबाट माथिल्लो मैलुङ खोलाको आईपीओ खुल्यो

0
Shares

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आजबाट आईपीओ बिक्री खुला भएको छ ।

रसुवा र नुवाकोट जिल्लामा आयोजनाबाट प्रभावित विभिन्न क्षेत्र तथा गाउँपालिकाका स्थानीयलाई कुल १० लाख कित्ता सेयर जारी गर्दैछ भने एक लाख ५० हजार कित्ता बैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई खुला गरिएकाे हाे । कम्पनीले जारी पुँजी १ अर्बको २५ प्रतिशत सेयर जारी गर्ने छ । जसमध्ये पहिलाे चरणकाे  आईपीओ खुला भएकाे छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँडपछि  दाेस्राे चरणमा सर्वसाधारणका लागि बिक्री गर्ने छ ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूले कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले छिटोमा साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ भने उक्त समयमा बिक्री नभए भदौ १ गतेसम्म म्याद थप गर्न सकिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले भने आवेदन दिने अन्तिम म्याद नै १८ गतेसम्म मात्र हो ।

आयोजना प्रभावितका लागि सेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता अति प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नम्बर ९ का बासिन्दालाई र २ लाख ८५ हजार ७२० कित्ता आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नम्बर २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मा बसोबास गर्नेहरुका लागि बिक्री खुला हुनेछ । यस्तै रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर छुट्टाइएको छ ।

कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल, आयोजना स्थल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । भने यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निर्माण गरेकाे १४.३ मेगावाट क्षमताको परियोजनाको प्रति मेगावाट लागत १७ करोड ४८ लाख रुपैयाँ छ । उक्त आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि ७.१० वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.७६ वर्ष रहेको छ । आयोजनाले आगामी साउन १५ गतेदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ । यो आयोजना सानिमा ग्रुप अन्तर्गतको हो । 

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ निष्काशनको रेटिङ्ग गरेको केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत जनाउने रेटिङ्ग दिएको छ । केयरले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको हो । यो रेटिङ प्राप्त कम्पनीहरुमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत जोखिममा रहेको जनाउँदछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।