नेपाल इन्स्योरेन्सको साढे १९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर लिलाम बढाबढ पक्रियाद्वारा संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले १९ लाख ४८ हजार ५३८ कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीले यसअघि २०७९ साल साउन ८ गतेदेखि २२ गतेको समय दिई संस्थापक सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरेको थियो ।

सो समयमा २१ लाख ५७ हजार ६१७ कित्ता मध्ये ३ लाख ६४ हजार ५४० कित्तामा आवेदन परेको थियो । कम्पनीले उक्त कित्ता सेयर बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले बाँडफाँड गरेर बाँकी रहेको १९ लाख ४८ हजार ५३८ कित्ता सेयर आम सर्वसाधारणलाई बिक्री खुलाएको छ । उक्त सेयरमा साउन ८ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन सकिने छ । सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम ग्लोबल आइएमई क्यापीटल लिमिटेड, नक्साल, काठमाण्डौंमा बुझाउन सकिने छ ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको सेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । न्यूनतम मूल्य भन्दा कम मूल्य अंकित गरि पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।

सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम एक लाख कित्ता वा अधिकतम १९ लाख ४८ हजार ५३८ कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।