दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनका केही स्थानमा रुख कटानको काम धमाधम अगाडि बढाइएको छ । प्रसारण लाइन निर्माणका क्रममा काट्नुपर्ने रुखमध्ये हालसम्म ५० प्रतिशत कटानकार्य सम्पन्न भएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनको मार्गमा पर्ने वन क्षेत्रमा रुख कटानको काम भइरहेको छ । चितवनको भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन, सतनचुली सामुदायिक वन र भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी तथा सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका १ हजार २६३ रुख कटान गरिनेछ ।
मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवन जिल्लामा कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको थियो । त्यसमध्ये चितवनमा २५.२७ हेक्टर र तनहुँमा ६७.४६ हेक्टर वन क्षेत्र छ । उक्त क्षेत्रमा रहेका कुल ९ हजार १२७ वटा रुख हटाउन सरकारले स्वीकृति दिएको थियो ।
आयोजनाको प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न तथा रुख कटान गर्न आवश्यक सरकारी स्वीकृति प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । वन क्षेत्रभित्र प्रसारण लाइनका टावर निर्माण तथा तार तान्ने कामका लागि आवश्यक स्थान व्यवस्थापन गर्न रुख कटान भइरहेको आयोजना प्रमुख भण्डारीले बताए।
प्याकेज ३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ । करिब ३५ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ ।
