लगानीकर्ताले मौद्रिक नीति बुझेपछि घट्यो सेयरबजार

0
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने घोषणा गरेपछि उच्च अंकले बढेको सेयरबजार एकदिन पनि टिकाउ नभई ओरालो लागेको छ ।

सेयर लगानीकर्ताहरु मौद्रिक नीतिका प्रावधान बारे प्रष्ट भएपछि मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टको बजार ओरालो लागेको हो । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने घोषणा गरेपछि लगानीकर्ता उत्साहित भएका थिए । सो दिन सेयर बजार ६३ अंकले उकालो लागेको थियो भने ४ अर्ब ३७ करोड बढीको कारोबार भएको थियो ।

तर, मौद्रिक नीति सार्वजनिक भएपछिको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले मौद्रिक नीतिका व्यवस्था प्रष्ट्याएपछि भने बजार ओरालो लागेको हो । उनले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरिएको र अन्यमा यथावत रहेको स्पष्ट पारेका थिए ।

सबै खालको सेयर धितो कर्जाको जोखिम भार नघटेको र ठूला कर्जाको थयावत रहेको प्रष्टिकरणपछि ठूला लगानीकर्ताहरु निराश हुँदा त्यसको प्रभाव सोमबारको बजारमा देखिएको हो। अकोतर्फ अघिल्लो दिन उच्च अंकले बढेको बजारमा नाफा सुरक्षित गर्नेहरुको सक्रियताले पनि बजारमा गिरावट आएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको जोखिम भार २५ लाख सम्मकोलाई ५० लाख पुर्याएर १०० प्रतिशत कायम गरेको छ भने अरुमा यथावत राखेको छ ।

सोमबार नेप्से २६.६६ अंकले घटेर दुई हजार दुई सय दशमलब ५० विन्दुमा बन्द भएको हो । बजार घटेपनि कारोबारमा सुधार आएको छ । आज ४ अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५० कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.५० प्रतिशत घटेको छ भने बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार किसान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ७९ रुपैयाँ २० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन एनआईबिएल ग्रोथ फण्ड र लिबर्टी इनर्जीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंकको करिब २० करोडको शेयर कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।