मौद्रिक नीति पछिको दुई दिनमै ६३ अंकले घट्यो नेप्से, साना लगानीकर्तालाई राहत दिँदा ठूलालाई रुचेन

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे पछिका दुई दिन सेयर बजारमा उच्च गिरावट आएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने घोषणा गरेपनि सेयर बजार भने ओरालो लागेको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछिको पछिल्ला दुई दिनमा नेप्से अंकले घटेको छ। सोमबार नेप्से २६.६६ अंकले घटेको नेप्से मंगलबार ३६.१९ अंकले घटेको छ । सोमबार र मंगलबार गरेर नेप्से ६२.८५ अंकले घटेको हो । मौद्रिक नीति सार्वजनिक भएको दिन गत आइतबार नेप्से ६३.२४ अंकले बढेको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको जोखिम भार २५ लाख सम्मकोलाई ५० लाख पुर्याएर १०० प्रतिशत कायम गरेको छ भने अरुमा यथावत राखेको छ । सबै आकारको कर्जाको जोखिम भार १५० प्रतिशतबाट सोझै १०० प्रतिशतमा झर्छ भन्ने लगानीकर्ताहरुको अपेक्षा थियो।

राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने घोषणा गरेपछि लगानीकर्ता उत्साहित भएका थिए । सो दिन सेयर बजार ६३ अंकले उकालो लागेको थियो भने ४ अर्ब ३७ करोड बढीको कारोबार भएको थियो ।

राष्ट्र बैंकले सबै खालको सेयर धितो कर्जाको जोखिम भार नघटेको र ठूला कर्जाको थयावत रहेको प्रष्टिकरणपछि ठूला लगानीकर्ताहरु निराश हुँदा त्यसको प्रभाव बजारमा देखिएको हो।

मौद्रिक नीतिले साना लगानीकर्तालाई भने सेयर धितोकर्जाको सीमा बढाएर राहतै दिएको छ । साना लगानीकर्ताले राहत पाएपनि बजारमा धेरै हिस्सा भएका ठूला लगानीकर्ताहरु निराश बन्दा समग्र बजार नकारात्मक बन्न पुगेको हो ।

मंगलबार २६.६६ अंक घटेको बजारमा २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२२ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग तथा विकास बैंक उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

यसदिन किसान लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ। त्यसैगरी, सिटि होटलको शेयरमूल्य ७.७४ प्रतिशत बढेदा नबिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ६.८७ प्रतिशत घटेको छ भने बिपिडब्लु लघुवित्तको शेयरमूल्य र सानिमा बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।