एनआइसी एशिया क्यापिटलले ९ करोड बढी लाभांश वितरण गर्ने


एनआइसी एशिया क्यापिटल लिमिटेडले ९ करोड २० लाख रूपैयाँ लाभांश वितरण गर्ने भएको छ । क्यापिटलले चुक्ता पुँजीको ४६ प्रतिशतले हुन आउने कर सहितको रकम वितरण गर्ने भएको हो ।

क्यापिटलको साधारण सभाले पारित गरेपश्चात्  उक्त नगद लाभांश वितरण हुने छ । नगद बाँड्ने प्रस्ताव पारित गर्नका लागि क्यापिटलले साउन ३२ गते साधारण सभा बोलाएको हो । सभा एनआइसी एशिया क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय, थापाथली काठमाण्डौंमा बस्ने छ । क्यापिटलमा एनआइसी एशिया बैंककाे शतप्रतिशत लगानी रहेकाले लाभांश बैंकले पाउने छ ।

क्यापिटलको साउन ९ गते सम्पन्न सञ्चालक समितिको १२७ औं बैठकले साउन ३२ गते सातौं वार्षिक साधारण सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९\०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।