मौद्रिक नीतिले घटायो लगानीको मनोबल, चार दिनमा १०० अंकले घट्यो सेयर बजार

0
Shares

मौद्रिक नीतिपछिको चार कारोबार दिनमा सेयर बजार परिसूचक नेप्से १०० अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार ६३.२४ अंकले बढेको बजार त्यसपछिका चार कारोबार दिनमा १००.६७ अंकले घटेको हो ।

आइतबार २२२७.१६ बिन्दुमा रहेको नेप्से बिहीबार २९.७१ अंकको गिरावटपछि २१२६.४८ बिन्दुमा झरेको हो । सोमबार २६.६६, मंगलबार ३६.१९ र बुधबार बजार ८.११ अंकले घटेको हो । बुधबारको तुलनामा बिहीबार बजारको गिरावट बढेर २९.७१ पुगेको हो ।

नेप्से परिसूचकसँगै ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ५।२६ अंक घटेर ४०३.८४ को विन्दुमा बन्द भएको हो । यसदिन २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर ४४ हजार ६७२ पटक खरिद बिक्री हुँदा २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । कारोबारमा आएको ३० कम्पनीको सेयर मूल्य बढेको छ । २२२ कम्पनीको सेयर मूल्य घटेको छ भने १९ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

साताको अन्तिम कारोबारको दिन आज कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेको छ । जसमध्ये व्यापार उपसमूहगत सूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन फाइनान्स, होटल तथा पर्यटन र अन्य परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमको आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सिमेन्टको १० करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख, प्रोगशिभ फाइनान्सको ६ करोड ८० लाख, नेपाल रि इन्स्योरेन्सको ६ करोड ११ लाख र एभरेष्ट बैंकको ६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबारमा आएको छ ।

बिहीबार एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको इकाईमूल्य सर्वाधिक ७.३९ प्रतिशत बढेर ९.०१ रुपैयाँ पुगेको छ । त्यसैगरी मनकामना स्मार्ट लघुवित्तको ५.९० प्रतिशत, इमर्जीङ्ग नेपालको ५.६६ प्रतिशत र अभियान लघुवित्तको सेयर मूल्य ५.६१ प्रतिशत र सिक्लेस हाइड्रोपावरको सेयर ४.०९ प्रतिशतले मूल्य बढेको छ ।

आज जाल्पासँग मर्जर सम्झौता गरेको किसान लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.६८ प्रतिशत घटेको छ । यस्तै प्रोगशिभ फाइनान्स ४.९८ प्रतिशत, माइखोला हाइड्रोपावरको ४.९० प्रतिशत, मिथिला लघुवित्तको ४.६७ प्रतिशत र बरुण हाइड्रोपावरको सेयरमूल्य ४.२० प्रतिशतले घटेको छ ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब २४ अर्ब ९३ करोड ४२ लाख रुपैयाँमा समेटिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।