पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सुपरिवेक्षकीय क्षमता अभिवृद्धि गर्नेमा जोड दिएको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि बोर्डले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भौतिक, प्रविधिगत, कानुनी रुपमा सुधार गर्दै स्थलगत एवं गैरस्थलगत सुपरिवेक्षण कार्यलाई मजबुत बनाउने नीति अगाडि सारेको हो । यस वर्ष ३० विकासात्मक र ४४ नियमित गरी कुल ७४ वटा कार्यक्रम सार्वजनिक गरेको बोर्डले दर्जन बढी कार्यक्रम मार्फत सुपरिवेक्षकीय क्षमता अभिवृद्धि गर्ने नीति लिएको हो ।
बोर्डले सार्वजनिक गरेको नीतिमा बोर्डको कार्यक्षेत्र अन्तर्गत रहेका धितोपत्र बजार (नेप्से), केन्द्रीय निक्षेप कम्पनी, निक्षेप सदस्य (डीपी), मर्चेण्ट बैंकर, क्रेडिट रेटिङ्ग कम्पनी, आस्वा सदस्य, धितोपत्र दलाल, धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, विशिष्टीकृत लगानी कोषहरूको वित्तीय विवरण, सूचना तथा जानकारी तथा अन्य काम कारवाहीहरूको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण कार्य गरिने उल्लेख छ । तीमध्ये कुल संख्याको कम्तिमा २० प्रतिशतको स्थलगत सुपरिवेक्षण गरिने नीति बोर्डले लिएको छ ।
चालु आवमा बोर्डले धितोपत्र निष्काशनका बखत निष्काशनकर्ता कम्पनीले सार्वजनिक गरेको निष्काशित धितोपत्रबाट संकलित रकम विवरणपत्रमा उल्लेख भए बमोजिम सदुपयोग गरेर नगरेको सम्बन्धमा समेत सुपरिवेक्षण गरी प्रतिवेदन तयार गर्ने बताएको छ ।
यस्तै बोर्डले धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोवार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको वास्तविक समयमा नै अनुगमन (रियल टाइम सर्भिलेन्स) गर्ने तथा नियमित रूपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्ने उल्लेख गरेको छ ।
धितोपत्र बजार, वस्तु बजार तथा व्यवसायीहरूलाई प्रभावकारी सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल तयार गरी लागू गर्ने बोर्डको तयारी छ । धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने तथा धितोपत्र दलाल व्यवसायीहरूको अनुगमन तथा सुपरिवेक्षण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गरिने बोर्डले बताएको छ ।
बोर्डले सुपरिवेक्षण कार्य र अन्य प्रकृयाहरूलाई सूचना प्रविधिमा आधारित बनाउन आवश्यक हुने सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने व्यवस्था मिलाउने नीति तथम कार्यक्रममा उल्लेख गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भैरहेका एआई बेस्ड एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणालीको प्रयोगको सम्बन्धमा अध्ययन कार्य गर्ने बोर्डको भनाई छ ।
यस्तै बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्न इन्टरप्राइज रिर्सोस प्लानिङ्ग (इआरपी) सम्बन्धमा अध्ययन गरिने बोर्डले जनाएको छ । साथै सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआईएस) स्थापनाको लागि अध्ययन गर्ने बोर्डको योजना छ ।
बोर्डको नियमन तथा सुपरिवेक्षण कार्यलाई अन्तर्राष्ट्रिय अभ्यास अनुरूपको बनाउन धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित ज्ञान अनुभवहरूको आदान प्रदान गर्न आवश्यकता अनुसार विदेशी नियमन निकायसँग दीर्घकालीन रणनीतिक समन्वय र साझेदारी विकास गर्ने सम्बन्धी कार्य अगाडि बढाइने बोर्डले जनाएको छ । चालु आवको नीति तथा कार्यक्रममा वस्तु विनिमय बजार सम्बन्धी वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्योट व्यवसाय, वेयर हाउस लगायतका सम्बन्धमा आवश्यक नीति, नियम तथा निर्देशिकाहरूको तर्जुमा गरिने बोर्डले जनाएको छ ।
धितोपत्र सम्बन्धी कसूरको तहकिकात तथा अनुसन्धान र कानुन प्रवलीकरण कार्य प्रभावकारी रूपमा गर्ने, धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरूका नियम पालना अधिकृतहरूका लागि तालिम अन्र्तक्रिया कार्यक्रम सञ्चालन गर्ने, धितोपत्र बजार, धितोपत्र व्यवसायी र सूचीकृत संगठित संस्थाहरूको विस्तृत विवरण (प्रोफाइल) अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिँदै विवरण, जानकारी, सूचना प्रवाह तथा अन्य कामकारवाहीको प्रभावकारी रूपमा सुपरिवेक्षण गर्ने भएको छ ।
बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी भएको शंका लागेमा, कुनै माध्यमबाट जानकारी प्राप्त भएमा वा अन्य सम्बद्ध निकायबाट अनुरोध भइ आएमा सोको छानबिन तथा जाँचबुझ कार्यलाई उच्च प्राथमिकताका साथ गर्ने बताएको छ । यस्तै सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्य सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग आवश्यक सहयोग र समन्वय गर्ने योजना बनाएको छ ।
बोर्डका गतिविधिहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्न जनशक्तिको क्षमता विकासका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित तालिम प्रदायक संस्थासँग समन्वय गरी प्रशिक्षण कार्य अगाडि बढाउन पहल गरिने आइतबार सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
